७१ दिनमै राजीनामा बोकेर अष्टलक्ष्मी प्रदेश प्रमुख कार्यालयमा

७१ दिनमै राजीनामा बोकेर अष्टलक्ष्मी प्रदेश प्रमुख कार्यालयमा

मुख्यमन्त्री भएकको ७१ औँ दिन बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिनु भएको छ । बागमती प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै राजीनामाको घोषणा गर्नु भएकी शाक्यले प्रदेश प्रमुखसमक्ष लिखित राजीनामा पेश गर्नुभएको हो ।

उहाँ गत भदौ २ गते तत्कालीन नेकपा एमालेबाट बहुमतको आधारमा मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । तर नेकपा एमाले बिभाजन भई नेकपा एकीकृत समाजवादी गठन भएर १३ जना सांसदले एमाले छाडेपछि उहाँ अल्पमतमा हुनुहुन्थ्यो ।

बिपक्षी गठबन्धनको बहुमत पुग्ने भएपछि अष्टलक्ष्मीले आजको बैठकमा विश्वासको मत लिने कार्यसूचि थियो । तर, एकाएक संसद बैठकबाट राजीनामा घोषणा गरेपछि मत विभाजन प्रक्रियामा संसद जानु परेन । अब विपक्षी गठबन्धनमा नेकपा एकीकृत समाजवादीको तर्फबाट राजेन्द्र पाण्डे मुख्यमन्त्री हुने तय भएको छ ।

प्रदेश प्रमुख कार्यालयले शाक्यको राजीनामा स्वीकृत गरी समय तोकेर नयाँ सरकारको आह्वान गर्ने र सम्भवतः बिपक्षी गठबन्धनले पाण्डेलाई भोलि मुख्यमन्त्रीमा नियुक्तिका लागि पहल गर्ने नेकपा एकीकृत समाजवादी संसदीय दलकी प्रमुख सचेतक मुनु सिग्देलले बताउनुभयो ।

टिप्पणीहरू