आँखामा छारो नहाले त हुने नि !

आँखामा छारो नहाले त हुने नि !

केपी ओलीका एक नवभक्त पूर्वेली कमरेडले हालसालै एउटा उखानलाई नै चरितार्थ गरिदिएका छन्, ‘नानी पाउनु कहिले कहिले, भोटो सिउनु अहिले ।’ मुख्यमन्त्री पद जान आँटेका बेला ओलीले जातेजाते गरेका काम पछ्याउँदै प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले धनकुटा जिल्ला अस्पताललाई सय शैयाको अस्पतालमा स्तरोन्नति गरिएको भनी उद्घाटन गरे। तर, जिल्ला अस्पतालका लागि न जग्गा व्यवस्थापन भएको छ, न त डिपीआर नै तयार छ ।

हाल १५ शैया रहेको उक्त अस्पतालको नाममा १६ रोपनी जग्गा छ, त्यो पनि पहाडी क्षेत्रको उवडखाबड । धनकुटा अस्पताललाई स्तरोन्नति गर्न डिपिआरको लागि १५ लाख र भवन निर्माणका लागि प्रदेश सरकारबाट १ करोड बजेट विनियोजन त गरिएको छ तर जग्गा नभएकाले डिपिआरको कामै अघि बढेको छैन, पुरानो स्थानमा मात्र अस्पताल स्तरोन्नति गर्न सम्भव छैन । सय शैयाको अस्पताल चलाउन कम्तीमा ५० रोपनी जग्गा चाहिने धनकुटा अस्पतालका निमित्त प्रमुख डा. पुजन विश्वकर्मा बताउँछन् ।

धनकुटा अस्पताल स्तरोन्नतिका लागि नजिकै रहेका कृषि ज्ञान केन्द्र र रेशम विकास कार्यक्रमको जग्गा लिएर सय शैयाको अस्पताल बनाउने कि भन्ने कुराकानी भए पनि कुन र कहाँनेरको जग्गामा अस्पताल बनाउने भन्ने यकिन भने नभएको डा. विश्वकर्मा बताउँछन् । १५ शैयाको मात्रै अनुमति पाएको जिल्ला अस्पताललाई जसोतसो ४० शैयासम्म बनाएर चलाइएको छ । हालकै अवस्थामा सय शैयाको बनाउन मापदण्ड नपुग्ने र मूलतः जग्गाको पूर्वाधार थप नगरी अस्पताल स्तरोन्नति हुनै नसक्ने डा. विश्वकर्माले बताए ।

सरकारी मापदण्डअनुसार १०० शैयाको अस्पताल सञ्चालन गर्न विभिन्न ८ वटा विभाग हुनुपर्छ । सय शैयाको अस्पतालमा बालरोग, स्त्रीरोग, मानसिक रोग, फिजिसियन, छाती रोग, हाड रोग, नाक कान घाँटी रोग विशेषज्ञ आवश्यक हुन्छ । तर, हाल धनकुटा अस्पताल २ वर्षदेखि नै निमित्तको भरमा सञ्चालित छ । नवौँ वा दशौँ तहको मेडिकल सुपरिन्टेन्डेन्टको दरबन्दी रहे पनि आठौँ तहको भरमा सञ्चालन भइरहेको छ ।

यो अस्पताल स्तरोन्नति गर्न सके पूर्वीपहाडका तेह्रथुम, संखुवासभा र भोजपुर जिल्लाबासीले पनि ठूलै राहत पाउने थिए तर यथार्थ अवस्था कस्तो छ भने साधारणबाहेक अलि जटिल खालका बिरामीलाई अझै पनि साधन स्रोत, पूर्वाधार र डाक्टरको अभावमा धरानको घोपा क्याम्पतिर कुदाउनुपर्ने बाध्यता छ । मुखिया मन्त्रीले धनकुटा अस्पताललाई मेडिकल कलेजसम्म बनाउने ओली पाराकै भाषण छाँट्न भ्याए ।

हुन त जिल्ला अस्पताललाई ५० शैयामा स्तरोन्नति गर्ने आश्वासन धनकुटाबासीले ०७२ सालदेखि नै नपाएका होइनन् तर प्रगति भने शून्य छ । यसपालि पनि मुखियामन्त्रीले कुनै पूर्वाधारबिनै नाम मात्रको सय शैयाको अस्पताल उद्घाटन गरे । जुन ओलीले पानीजहाज उद्घाटन गरेजस्तै अर्थहीन बनेको छ ।

टिप्पणीहरू