​कहाँबाट को हटे, कुन ठाउँमा को खटे ?

नेपाल औद्योगिक विकास निगम (एनआइडिसी) र राष्ट्रिय वाणिज्य बैंक मर्ज भएर एउटै बन्ने भएपछि यी दुईलाई एकीकृत कारोबार थाल्न चैत २२ गते राष्ट्र बैंकको बोर्ड बैठकले स्वीकृति दिएको छ । नेपाल सरकारको पूर्ण स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंक र ९९.६ प्रतिशत सरकारी शेयर रहेको एनआइडिसीबीच अब एकीकृत कारोबार शुरु गर्न कुनै समस्या छैन । यसरी बन्ने बैंकको अध्यक्ष प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्रमान गुरुङ हुने गरी गत हप्ता टुंगो लागेको हो । यसको शिकारचाहिँ वाणिज्य बैंकका हालका अध्यक्ष रवीन्द्र पाण्डे हुने भएका छन् । उनको कार्यकाल दुई वर्ष बाँकी नै थियो तर अब बीचैमा सकिँदै छ ।

उता, नयाँ अध्यक्षको जिम्मेवारी गुरुङलाई दिने निर्णय गर्नुको कारण थियो उनी प्रम कार्यालयको सचिव हुनु तर लगत्तै सञ्चार मन्त्रालयमा सरुवा भइसकेको छ । त्यहाँ उनको ठाउँ सम्हाल्न सट्टापट्टाकै शैलीमा सञ्चार मन्त्रालयबाट केदार अधिकारी गएका छन् । प्रधानमन्त्री कार्यालयको सचिव भएकै कारण गुरुङ अध्यक्ष तोकिएका हुनाले अब त्यो जिम्मेवारी उनले सम्हाल्छन् कि अधिकारीले पाउँछन् भन्ने प्रश्न खडा भएको छ । महेन्द्र गुरुङ अब दूरसञ्चार कम्पनीको पनि स्वतः अध्यक्ष बन्नेछन् । उता कम्पनी रजिष्ट्रार कार्यालयमा नयाँ बन्ने बैंकले पुँजी दर्ता गर्नुपर्ने छ । विगतको अलग अलग कारोबार गर्ने लाइसेन्सहरूलाई बदर गरेर नयाँ इजाजत बनाउनु छ । यो काम एक महिना अर्थात् वैशाख २२ गतेभित्र गरिसक्नुपर्ने भएको छ । उता, कृष्णनगर नाकाका प्रमुख भन्सार अधिकृत विन्देश्वरप्रसाद लेखक र टेकनारायण भुसाल नयाँ सरकारद्वारा डामिने पहिलो भन्सार हाकिम भएका छन् । विन्देश्वर कांग्रेस नेता रमेश लेखकका नातेदार हुन् ।

त्यसैले उपसचिव हुनासाथ मिलाएर पहिलो पोस्टिङ नै आकर्षक नाकामा पारेका थिए । तर, बदमासी गरेको भन्दै विभागमा तानिएका छन् । उनको प्रस्तुतीकरण त्यति बलियो र प्रभावकारी नदेखिएको छुट्टै अनुसन्धान टोली गएर छुट्टै गरेका सामानको पुनः जाँच गर्ने क्रममा फेला परेको हो । उता, विराटनगर भन्सारमा ३ वटा गाडीको निरीक्षण गर्दा तिनीहरू चार लाख मात्र राजश्व तिरेर भित्रिन लागेकोमा हिसाब गर्दा ३५ लाख तिर्नुपर्ने देखियो । तर, त्यहाँका जिम्मेवारहरू पक्राउ भने परेनन् किनकि अर्को टोलीले जाँचपास गरेर भन्सार क्लियर गर्नुअगावै छानबिन गरेकाले कर्मचारीको बदमासी प्रमाणका रूपमा स्थापित हुन पाएन । त्यसैले कर्मचारी जोगिए तर राजश्व भने बढ्यो ।

उता, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव तोयम रायलाई अर्थ मन्त्रालयमा तानेर भन्सारको नयाँ डिजी बनाइएको छ । उनी एयरपोर्ट भन्सार, दुई नम्बर कर कार्यालय, भन्सार विभागको डिडिजी, भ्याटमा समेत बसिसकेका मान्छे हुन् । मोरङ र भैरहवामा सिडिओ चलाइसकेका छन् । जनार्दन शर्माले गृहबाट महिला, बालबालिकातिर हुत्याएका थिए । ठूला करदाता कार्यालयका हाकिम गंगाराम गेलाल, भन्सार विभागका महानिर्देशक जगदीश रेग्मीलाई पनि सामान्य प्रशासन मन्त्रालय ल्याएर थन्क्याइएको छ । ठूला करदाता कार्यालयमा काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत धनीराम शर्मालाई पठाइएको छ । उनी विष्णु पौडेल अर्थमन्त्री हुँदा पिए थिए । राजश्व अनुसन्धान विभागको उपमहानिर्देशक यज्ञ कोइरालालाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा पठाइएको छ ।

टिप्पणीहरू