पाकिस्तानले क्रिकेट जित्दा, काश्मिरी विद्यार्थीहरु चुटिए

पाकिस्तानले क्रिकेट जित्दा, काश्मिरी विद्यार्थीहरु चुटिए

दक्षिण एसियाका दुई आणविक हतियारसम्पन्न मुलुक भारत र पाकिस्तानबीच दुश्मनीको सम्बन्ध छ । भारतबाट छुट्टिएदेखि नै उनीहरुबीच वैमनश्यता रहँदै आएको हो । दुई मुलुकबीच हुने गरेका खेलकुद प्रतियोगितामा हुने हारजितलाई समेत उनीहरुले लडाईंसँग दाँजेर प्रचार गर्ने गरेका छन् ।

गत आइतबार राति दुबईको इन्टरनेशनल स्टेडियममा भएको टी २० विश्वकप क्रिकेट खेलमा पहिलो पटक पाकिस्तानसँग भारतले हारेपछि भारतको पञ्जाबमा बसेर पढ्दै गरेका भारत अधिनस्थ काश्मिरका विद्यार्थीहरुमाथि आक्रमण भएको अलजजिरा टेलिभिजनले जनाएको छ ।

खेल सकिएपछि पाकिस्तानको जीतमा खुसी मनाएका ती विद्यार्थीमाथि एकाएक आक्रमण भएको हो । कुटाइ खाएका एक जना  विद्यार्थीले भने, ‘क्रिकेट म्याच सकिएको केही मिनेटपछि होस्टल बाहिर २० जना जतिको समूह जम्मा भयो र मलगायत तीन जनालाई निर्घात चुटे ।’

आक्रमणपछि उनीहरू सुरक्षाको कारण होस्टल छाडेर नजिकैको साथीको घरमा गएर बसेका थिए । अलजजिराका अनुसार अस्तिको खेलपछि भारतमा कम्तिमा १४ जना कश्मिरी विद्यार्थीहरूमाथि आक्रमण भएको छ । तीमध्ये सात जना गम्भीर घाइते छन् । उनीहरुको अस्पतालमा उपचार भइरहेको छ ।

टिप्पणीहरू