सोती घटनाका साक्षीको बकपत्र शुरु

सोती घटनाका साक्षीको बकपत्र शुरु

-राजु लामिछाने

छ जनाको ज्यान जाने गरी अघिल्लो वर्ष जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ को सोतीमा भएको अमानवीय घटनाका साक्षीको बकपत्र आजदेखि शुरु भएको छ ।

रुकुम जिल्ला अदालतमा आजदेखि दुबै पक्षका साक्षीहरुको बयान शुरु भएको जिल्ला अदालतका स्रेस्तेदार कृतिबहादुर बोहराले बताउनुभयो ।

उक्त घटनाका वादीतर्फका ३९ जना र प्रतिवादीतर्फका २३ जनालाई आज हाजिरी गराइएको छ भने भोलि बकपत्र हुनेछ । बोहराका अनुसार शुक्रबारसम्म बकपत्र गराइसकिने छ ।

सोती घटनामा संग्लग्न भएको आरोपमा चौरजहारी नगरपालिका ८, सोतीगाउँका ३४ जनाविरुद्ध जिल्ला अदालत रुकुम पश्चिममा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुत अभियोगमा मुद्दा दायर भएको छ ।

तीमध्ये २३ जना आरोपीलाई पुर्पक्षका लागि कारगारमा राखिएका छन् । ११ जनालाई तारेखमा छाडिएको छ । अदालतले शुरु थुनछेक आदेशबाट वारदात गर्न षड्यन्त्र गरेको आरोप लागेकी युवतीकी आमालाई एक लाख रुपैयाँ धरौटीमा तथा घटनाका आरोपी दीपेन्द्र चन्द, तुलबहादुर मल्ल र मतियारको आरोप लागेका इन्द्रबहादुर मल्ललाई सामान्य तारेखमा रहने गरी पुर्पक्ष गरेको थियो ।

बाल सुधारगृहमा रहेकी नवराजकी प्रेमिका भनिएकी १७ वर्षिया किशोरी र एक किशोरलाई आभिभावकको जिम्मामा रहनेगरी उच्च अदालत सुर्खेतले साधारण तारिखमा छाडेको छ ।

त्यस्तै सर्वोच्च अदालतले घटनाका आरोपी तुलाराम घर्ती, डिल्ली घर्ती, लोकेन्द्र घर्ती, शौरभ पुन र भीमबहादुर घर्तिलाई पनि साधारण तारिखमा छाड्ने आदेश दिएको थियो ।

जाजरकोटको भेरी नगरपालिकाका नवराज विक, गणेश बुढा मगर, सञ्जु विक, लोकेन्द्र सुनार, गोविन्द शाही र रुकुम पश्चिमको चौरजहारी नगरपालिका १ का टीकाराम नेपालीलाई उक्त घटनामा अमानवीय तवरले मारिएको थियो । पछि छ जनाकै शव भेरी नदीमा भेटिएको थियो ।

टिप्पणीहरू