​अचम्मैसँग बिचराको आगमन

आइतबार बिहान अन्तर्राष्ट्रिय विमानस्थलमा अनौठो घटना देखियो । एक जना २२/२३ वर्षे नेपाली युवकलाई लिएर तीन जना अंगे्रजले दोहा हुँदै आएका अध्यागमन अधिकृतसँग भने, ‘यो खराब मानिस हो, जेलबाट निकालेर ल्याएका हौं ।’ उनीहरूले यसो भनेर ती युवकलाई बुझाउँदा एउटा कागज पनि दिए । जसमा निरास मुद्रामा देखिएका युवक नेपाली हुन् भन्ने व्यहोरा लेखिएको थियो । अंग्रेजहरूलाई छाडेर बाटो लागे ।

युवकसँग सोधपुछ गर्दा उनले आफूसँग नेपाली हुनुको कुनै कागजात नभएको बताएपछि अध्यागमन अधिकृतले लण्डनबाट नेपाल ल्याउने कतार एयरका कर्मचारीलाई बोलाएर कागजपत्र केही नभएको मानिसलाई किन ल्याएको भनी केरकार गरे । कतार एयरले नेपाली भन्ने प्रमाण नखुलेसम्म खानपान र बसोबासको व्यवस्था गर्ने भयो । सोमबार तिनै अंगे्रज फेरि विमानस्थलस्थित अध्यागमन कार्यालयमा देखापरे र ती युवकको प्रयोजनहीन तर निकै पुरानो नेपाली पासपोर्टको छायाप्रति दिए । यसबाट ती युवक दशौं वर्षअघि नेपाली भएको खुल्यो । नहकुल थापा नाम गरेका उनी बालक अवस्थामै बाबु आमा र दिदीहरूको साथ लागेर बेलायत गएका रहेछन् । नागरिकता बन्ने उमेर नभएको तर सपरिवार बेलायत जाने भएपछि पासपोर्ट बनाइएको रहेछ । 

उनलाई बेलायत सरकारले समयावधि नतोकीकन भिसा दिएको थियो । परिवारको साथमा बेलायतमै हुर्किए र पढे । पाँच वर्षअघि साथीहरूसँग बसी लण्डनको एक रेस्टुरेस्टमा खानपिन गरिरहेका थिए । यसबीच एक साथीको मोबाइल हरायो र त्यहीँ रहेका एक अंग्रेजले लिएको शंका गरे । यसपछि दुई पक्षबीच विवाद भयो । मोबाइल लगेको शंका गरिएका अंग्रेज समूहका मानिसले उल्टै नेपालीलाई गिज्याए । विवाद लम्बिँदै जाँदा दुई पक्षबीच भिडन्त भयो र केही घाइते भए । मोबाइल चोर्ने बेलायती भाग्यो । यस घटनालाई लिएर नहकुलसहितका ३ नेपालीलाई प्रहरीले समात्यो । पक्राउ परेकाहरूले हिरासतमा यातना त भोगे नै ! अदालतमा यिनीहरूविरुद्ध मुद्दा दायर गरियो । अरूले उन्मुक्ति पाए । नहकुललाई ४ वर्षे जेल सजाय सुनाइयो । नहकुलले पुनरावेदन गर्छु भन्दा अनुमति दिइएन । उनले पूरै जेल सजाय काटे । निस्कनासाथ नेपाल फर्काउने निर्णय सुनाइयो । उनले बेलायती गृह मन्त्रालय मातहतको निकायमा पुनरावेदनका लागि आग्रह गरे । यसको पनि सुनुवाइ भएन । 

बेलायतबाटै निकाला गर्ने फैसलाविरुद्ध माथिल्लो अदालतमा पुनरावेदन दिने नहकुलको मागप्रति पनि बेलायती प्रशासन कठोर बन्यो । रेस्टुरेन्टमा खाएर बसेका बेला आफ्नै मोबाइल चोरसँग मोबाइल फिर्ता लिने निहँुमा भएको झगडामा यति कठोर निर्णय सुनाउने व्यवहार बेलायतीमूलकै नागरिकप्रति पनि यस्तै हुन्छ होला ? नहकुलले गल्ती गरेको प्रमाणित गर्ने संस्था र अधिकारीहरूले एउटै केसमा दुईवटा सजाय दिन मिल्छ कि मिल्दैन भनी किन नसोचेका होलान् ? चार वर्ष जेल सजाय दिएकाले फेरि देश नै निकाला गरी दोहोरो सजाय किन सुनाएका ? यो कुन न्यायिक सिद्धान्त र व्यवहारअन्तर्गत पर्छ ? एकातिर नहकुल सानो उमेरमै बेलायत पुगे र उतैको संस्कार सिके ।

साँच्चै कामै नलाग्ने मानिस नै हुन् भने पनि उनलाई यस्तो कसले बनायो ? बेलायती संस्कार र सभ्यताले कि नेपाली संस्कारका कारण उनी यस्तो बनेका हुन् ? बाल्यकालमै लगी उतै बसोबास, पढाइ र व्यवहार सिकाउने काम त बेलायती समाज र संस्कारले नै गरेको हो नि ! बेलायती समाज सभ्य र राम्रो भएको देखाउन÷बनाउन दोहोरो सजाय दिएर जबर्जस्ती नेपाल झारिएका नहकुलका बाबुआमा र दुई दिदी बेलायतमै छन् । दिदीहरू नर्सका रूपमा बेलायतीको सेवा गरिरहेका छन् । तर, आफ्नो मोबाइल खोज्न आक्रामक रूपले लागेका कारण नहकुल अलपत्र अवस्थामा नेपालमा भौंतारिइरहेका छन् । न उनको नेपाली नागरिकता छ न त पासपोर्ट, अभिभावक पनि विदेशमै । अब उनी कोसँग बस्ने ? डिप्रेसनको शिकार भएर अरु अपराधमा संलग्न भए भने कसले सम्हाल्ने ?

टिप्पणीहरू