बारको प्रचण्ड बहुमतले प्रधानन्यायाधीशको राजीनामा माग्यो

बारको प्रचण्ड बहुमतले प्रधानन्यायाधीशको राजीनामा माग्यो

कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसियसनको सल्लाहकार समितिले प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाको राजीनामा माग्न र नदिए देशव्यापी आन्दोलन गर्न कार्यसमितिलाई सुझाव दिएको छ ।

बारका सबै पूर्वअध्यक्ष, उपाध्यक्ष र सचिव सल्लाहकार हुन्छन् । केही बेरअघि सम्पन्न भएको सल्लाहकार समितिको बैठकमा उपस्थित ५० भन्दा बढीमध्ये ३७ जनाले आफ्नो धारणा राखेका थिए तीमध्ये ३६ जनाले जबराले राजीनामा नदिए देशव्यापी आन्दोलन गर्न र इजलास बहिष्कार गर्न सुझाव दिएका छन् ।

पूर्व अध्यक्ष शेरबहादुर केसीले भने प्रधानन्यायाधीश राणाको राजीनामा माग्न नहुने सुझाव दिएका थिए । आजको बैठकमा शम्भु थापा,मुक्ति प्रधान,हरिहर दाहाल,रमण श्रेष्ठ,टीकाराम भट्टराई,सतिशकृष्ण खरेल, ओमप्रकाश अर्याल,बद्रिबहादुर कार्की, विजयकान्त मैनाली,कृष्णप्रसाद भण्डारी लगायतले बारलाई सुझाव दिएका थिए ।

वरिष्ठ अधिवक्ता शम्भु थापाले राणा पदमा रहुञ्जेल कानुन व्यवसायीले बहस गर्न नहुने सुझाव दिए । अधिवक्ता ओमप्रकाश अर्यालले प्रधानन्यायाधीशलाई अदालतभित्र प्रवेश नै दिन नहुने बताए । पूर्व महान्यायाधिवक्ता रमेश बडालले चाहिँ प्रधानन्यायाधीश मात्र नभई पूर्व प्रम ओलीले गरेको संसद बिघटनलाई उल्टाउने अरु ४ जना न्यायाधीशले पनि राजीनामा दिनुपर्ने धारणा राखेका थिए ।

छलफलमा सहभागी अधिकाँशले प्रधानन्यायाधीशले राजीनामा नदिए आन्दोलनमा उत्रिनु पर्ने सुझाव दिएका थिए । सल्लाहकार समितिको बैठक सकिएलगत्तै अहिले बार पदाधिकारीको बैठक बसिरहेको छ ।

टिप्पणीहरू