​कहाँदेखि कहाँसम्म उपत्यकामा रेल कुद्ने ?

सम्भावना अध्ययन गरी बाँकी काम अलपत्र छ । अहिलेसम्म एउटै रेल किन्न सकिएको छैन । प्रतिघण्टा १ सय ६० किमिका दरले गुड्ने रेलको परिकल्पना गरिएको छ । जसका लागि प्रतिकिलोमिटर झण्डै एक अर्ब रूपैयाँ लाग्ने बताइँदै छ । अहिले चर्चा बढी छ रेल विभागको । तर, विभाग आफैंमा तन्नम छ । एकातिर बजेट अभाव, अर्काेतिर विशेषज्ञ इञ्जिनियर र रेल नहुनु । त्यहाँ महानिर्देशक अनन्त आचार्यदेखि प्रकाशभक्त उपाध्याय, अमन चित्रकार, किरण कार्की, सन्तकुमार महर्जन र नवराज भट्ट इञ्जिनियरको हैसियतमा कार्यरत छन् । 

प्रधानमन्त्री ओलीले उपत्यकामा मेट्रो रेल गुडाउने भनेका छन् । तर, रेल विभागका अधिकारीहरूका अनुसार यो कार्य फत्ये हुन कम्तीमा २० वर्ष कुर्नुपर्छ । त्यो पनि आजभोलिमै यससम्बन्धी काम सुचारु भएको खण्डमा । ७० सालमा कोरियन कम्पनीलाई सम्भाव्यता अध्ययन गर्ने जिम्मा दिइएको थियो । उसको रिपोर्ट अनुसार उपत्यकामा ७७ किमि रेलमार्ग बन्नेछ । २५ किमि भूमिगत र ५२ किमि आकाशे । त्यसलाई पाँच भागमा वर्गीकरण गरिएको छ । उक्त सिफारिसअनुसार काम भए, सातदोबाटो–रत्नपार्क–नारायणगोपालचोक १२ किमि, कीर्तिपुर–कालिमाटी–नयाँ बानेश्वर–एयरपोर्ट ११ किमि र कोटेश्वर–चाबहिल–स्वयम्भू २९ किमिमा आकाशे यात्रा हुनेछ । स्वयम्भू–डिल्लीबजार–बौद्ध १२ किमि र धोबीघाट–सिंहदरबार–नक्साल–गाेंगबु १४ किमिमा भूमिगत रेलमार्ग निर्माणको सिफारिस गरिएको छ । उपत्यकाका यी पाँच स्थानमा विद्युतीय मेट्रो रेल निर्माणका लागि कूल ५४ हजार ७१७ करोड रुपैैयाँ लाग्ने प्रतिवेदनमा उल्लेख छ । 

मेट्रो मात्र होइन, रेलमार्गकै हालत पनि उस्तै छ । लक्ष्यअनुसार यसै वर्ष सम्पन्न भइसक्नुपर्ने बथना–जोगबनी–बुधनगर हुँदै विराटनगर आउने १८.५ किमि र जनकपुर–जयनगर–बिजुलपुरा–बर्दिवास ६९ किमिमा एक हजार ६७६ मिलिमिटर चौडाइको ब्रोडगेज रेलमार्ग अलपत्र छ । जनकपुर–जयनगर रेल अड्किरहेको छ । त्यो पनि मेलम्ची परियोजनाझैं सरेको स¥र्यै । भनिएको छ ०७५ पुसमा सक्ने लक्ष्य निर्धारण गरिनेछ । राष्ट्रिय गौरवको आयोजना मेची–महाकाली विद्युतीय रेलमार्गको लम्बाइ ९४५ किमि । हालसम्म २५ किमिमा काम सुचारु भएको छ । बुटवल पश्चिम चौकीसम्म डिपिआरको काम सकिएको छ, बर्दिवास काँकडभिट्टा, बर्दिवासदेखि लालगढसम्मको डिपिआर पनि बनेको छ । पूर्व–पश्चिम रेलमार्ग निर्माण काम १० वर्षमा सक्न वार्षिक ४० अर्ब रूपैयाँ बराबरको बजेट चाहिने विभागका अधिकारी बताउँछन् । अहिले विभागसँग भएको बजेट ४ अर्ब हो । बजेट कसरी र कहाँबाट जुटाउने ? रेलमार्ग निर्माणका लागि सबैभन्दा पेचिलो विषय त्यही हो । यसका लागि विदेशीकै मुख ताक्नुपर्ने बाध्यता छ । त्यहाँका एक कर्मचारीले मंगलबार बिहान जनआस्थासँग भने, ‘पहिला–पहिला रेल विभागभन्दा कर्मचारी नै हाँस्थे, खिसिट्युरी गर्थे, नेपालमा यस्तो पनि विभाग छ र ?’ भन्दै प्रश्न गर्थे । अहिले कर्मचारी यहाँ जान हानथाप गर्दै छन् । ४० जनाको दरबन्दी रहेको विभागमा कर्मचारीको समस्या पहिलेझैं छैन । 

टिप्पणीहरू