प्रधानमन्त्री रोजगार कार्यक्रममा अनियमितता, माओवादी केन्द्रका सदस्यलाई मात्र समेटिएको आरोप

प्रधानमन्त्री रोजगार कार्यक्रममा अनियमितता, माओवादी केन्द्रका सदस्यलाई मात्र समेटिएको आरोप

प्रधानमन्त्री रोजगार कार्यक्रममा भएका अनियमितताको खबर बेलाबेलामा बाहिरिएका छन् । किर्ते कागजात मिलाएर रकम हिनामिना गरेको, आफ्नालाई मात्र रोजगारदातामा सूचीकृत गरेको जस्ता अनियमितताहरु सार्वजनिक भइरहेको बेलामा रुकुम पश्चिममा भने नेकपा माओवादी केन्द्रको पार्टी सदस्यता भएकालाई मात्र रोजगार कार्यक्रममा सूचीकृतको लागि प्राथमिकता दिन पार्टीले निर्देशन गरेको तथ्य एक जना वडा अध्यक्षले सार्वजनिक गरेका छन् ।

त्रिवेणी गाउँपालिका ८ का वडा अध्यक्ष कर्णबहादुर खड्काले प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि निर्माण समिति गठन गर्नेदेखि रोजगारीका लागि पार्टीको सदस्य भएमा मात्र हुने अन्य पार्टीको सदस्य वा समर्थक भएमा कोटा बाँकी रहेमा मात्र दिन सकिने भन्दै स्थानीयसँग गरेको कुराकानीको अडियोसमेत सार्वजनिक भएको छ ।

अडियोमा वडा अध्यक्ष खड्काले स्वःरोजगार कार्यक्रममा सहभागी हुनको लागि पार्टीको सदस्यता लिएको हुनुपर्ने, अन्य पार्टीको भए अर्को पटक कोटा बचेमा मात्र समावेश गर्न सकिने उल्लेख गरेका छन् । ‘हाम्रो पार्टीमा प्रवेश गरे हुन्छ, नत्र हुँदैन,’ मोबाइलमा स्थानीयसँग गरेको कुराकानीमा वडा अध्यक्षले भनेका छन्,‘वर्गिय हितका लागि लडेका, पार्टीको लागि ढुंगामुढा गरेकालाई प्राथमिकता दिइन्छ ।’

यसबारे वडा अध्यक्ष खड्काले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा १३ लाख ३२ हजार रपैयाँ बजेट आएको, नियमानुसार १ सय दिनको काम दिँदा २३ जनालाई मात्र सम्भव भएकाले रोजगारदाता छनौट पद्धतिअनुसार गरेर कामको जिम्मा लगाइएको बताउनुभयो । उहाँले राजनीतिक रिसिइबी साँध्ने मनसायले केही व्यक्तिले अनावश्यक भ्रम फैलाएको प्रतिक्रिया दिनुभएको छ । अनावश्यक सवाल जवाफ गर्न खोज्दा आफूले मोबाइलमा त्यस खालको प्रतिक्रिया दिएको वडा अध्यक्षको जिकीर छ ।

वडाबाट चार सय ५८ जना रोजगारदाता सूचीकृत भएको जानकारी दिँदै अध्यक्ष खड्काले दोस्रो र तेस्रो चौमासिकमा प्राथमिकीकरण गरेर रोजगार दिइने उल्लेख गर्नुभयो । हामी पार्टीबाटै प्रतिनिधित्व गरेर आएको हुनाले पार्टीका मान्छेहरु पनि समावेश हुने कुरालाई ठूलो विषय बनाउन उपयुक्त नहुने उहाँको धारणा छ । पार्टी सदस्यता लिएकालाई मात्र रोजगारमा समावेश गर्ने कुरा केन्द्र, जिल्ला तथा गाउँपालिकाको निर्णय तथा निर्देशन नभएर वडामै मात्र गरिएको एक खालको सहमति रहेको समेत उहाँले उल्लेख गर्नुभयो ।

बेरोजगारहरुको संख्या धेरै र बजेट सीमित हुँदा यस खालको समस्या बल्झिएको वडा कार्यालयले जनाएको छ । उक्त कार्यको बिरोधमा नेपाली काँग्रेस त्रिवेणी गाउँपालिका ८ नम्बर वडा कार्यालयले खेद प्रकट गर्दै विज्ञप्ति समेत निकालेको छ । विज्ञप्तिमा वडाध्यक्षलाई अनियमितताका विभिन्न आरोप लगाउँदै सम्बन्धित निकायबाट छानबिन गरिनुपर्ने समेत माग गरिएको छ ।

टिप्पणीहरू