​सुन्दरीले निम्त्याएको समस्या

प्रधानमन्त्री केपी ओलीको टोली उत्तराखण्ड हुँदै स्वदेश फर्किने गरी नयाँदिल्लीबाट बिदाइ भयो । तर, उत्तराखण्ड उड्नुअघि दिल्लीस्थित एयरपोर्टमा गलफत्ति चल्यो, कालो चस्मा लाएर अत्तरको बासनाले उधुम मच्चाएकी महिलाको । उनी ‘फस्र्ट लेडी’ हैनन्, तर ‘फस्र्ट लेडी’ उनै हुन् जसरी प्रस्तुत भइरहेकी थिइन् ।

यिनी उनै शिवानी थापा हुन्, जो नेपाल टेलिभिजनको सातौं तहका नीराजन खनाल र क्यामेरामेन कृष्णहरि बखुञ्छेंलाई छिर्के लाएर उक्त भ्रमणमा सहभागी हुन पाएकी थिइन् । छैठौं तहकी शिवानीले दिल्लीस्थित नेपाली दूतावासका कर्मचारीलाई थर्काइरहँदा बिदा गर्न पुगेका भारतीय अधिकारी पनि रमिता हेरिरहेका थिए । उताउतै स्वदेश फर्किनुपर्ने कारण भ्रमण दलका सदस्यहरुले आ–आफ्ना लगेज कार्गोमा बुझाउनका लागि नेपाली दूतावासले व्यवस्था गरेको गाडीमा हाल्दै थिए । शिवानीचाहिँ हल्ला गर्दै थिइन्, ‘मसँग दुई–दुईवटा ल्यापटप छ, कसरी लगेजमा हाल्ने ? फुट्यो भने तपाईंहरुले तिर्ने हो ?’ त्यसपछि कर्मचारीहरुले उनीजत्रै सुट्केश ल्याएर तेस्र्याइदिए । भने, ‘लौ म्याडम, लगेजमा हाल्न नमिल्ने भए हजुरको सामान यही हो, लैजानुस् !’ यसपछि उनी आगो भइन् । ‘कसले ल्याउनु भन्यो यो यहाँ ?’ उनी कराएपछि कर्मचारीहरुले भने, ‘उमाकान्त आचार्य सरलाई तपाईंले भनेको होइन ?’ फेरि शिवानी कराइन्, ‘को हो उमाकान्त आचार्य ? म चिन्दिनँ ।’

उमाकान्त त्यहाँस्थित नेपाली दूतावासका लेखा अधिकृत हुन् । अघिसम्म आफ्ना दुई–दुईवटा ल्यापटप छन्, सबै लगेजमा हाले भनेर हल्ला गर्ने शिवानीले यसपछि कुरा फेरिन्, ‘यो मेरो लगेज नै होइन । मेरो ल्यापटप मेरै झोलामा छ ।’ बिदा गर्न पुगेका अधिकारीमात्र हैन, अब एयरपोर्टमा रहेका अरु सर्वसाधारण पनि उनको गलफत्ति सुन्न झुम्मिए, मानौँ, त्यहाँ ठूलै कुरा केही भइरहेको छ । यसपछि दूतावासका कर्मचारीले भने, ‘म्याम, हजुरले लैजाने कोसिस गर्नुहोला । यदि सीटमा नअट्ने भयो भने दूतावासमै फिर्ता लैजाउँला, पछि काठमाडौं पठाइदिउँला !’ फेरि उनी पड्किइन्, ‘ह्वाट अ नन्सेन्स † यत्रो लगेज सीटमा अट्छ ?’ यसपछि दूतावासका कर्मचारीले उनको लगेज फिर्ता लगे । 
प्रधानमन्त्रीको दिल्ली यात्राभर शिवानी हेर्न लायककी थिइन्, छिनछिनमै लुगा फेर्नाले । अरु पत्रकार मिडिया रुमतिर, उनीचाहिँ कहिले राजेश हमाल भएतिर, कहिले अन्य समूहतिर हुन्थिन् ।

टिप्पणीहरू