केही नलागेपछि सुटुक्क कमरेड

एमाले–माओवादीबीच वैशाख ९ मा हुने भनिएको पार्टी एकतामा सरिक नहुने घोषणा गरेका नेता गोपाल किराती अहिले गृहमन्त्री रामबहादुर थापा (बादल) का मान्छे ‘मिलाउन’ मा व्यस्त छन् । उनलाई चाहिएको रहेछ, उपराष्ट्रपति । नपाएपछि प्रचण्डलाई कम्तिमा १ नं. प्रदेशबाट लखेटेरै देखाउँछु भन्न थालेका छन् । 

आफूलाई चाहिएको चिज नपाउँदा पड्किहाल्ने उनको बानी बुझेरै प्रचण्डले गत प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा १ नं. प्रदेशको टिकट वितरणमा कुनै हस्तक्षेप गरेनन् । प्रदेश इञ्चार्जका हैसियतले उनले भनेकै कुरालाई सदर गरिदिएका थिए । कारण के हो भने, त्यसबेला पनि उनले एमालेसँग गठबन्धन गर्ने कुराको खुलेआम विरोध गरेका थिए । त्यसबापत प्रतिनिधिसभामा भोजपुरका सुदन किराँती, उदयपुरका सुरेशकुमार राई (हिमाल) देखि संखुवासभाबाट प्रदेशसभा समानुपातिकमा सासू सौभाग्यवतीदेवी राईलाई सांसद बनाए । प्रदेशभर प्रचण्डका मान्छे कम, गोपालका मान्छेले बढी अवसर पाए । मोरङमा संघीय संसदको क्षेत्र नं. ६ अन्तर्गत प्रदेशसभा क बाट प्रचण्डका ज्वाइँ जीवन आचार्यलाई हराउन सावित्रीकुमार काफ्लेहरुसँग नजिकिए । अहिले जीवनको खुमलटारस्थित प्रचण्ड निवासमा हालिमुहाली चल्छ । किरातीलाई यो कुरा त्यति निको लागेको छैन । 

एक समय बादलको नजिक भनेर चिनिएका थिए । बादललाई प्रधानमन्त्री बनाउने पहिलो प्रस्ताव उनैले राखेका हुन् । बादलले पनि जनजाति भनेर च्यापे । प्रचण्डसँग बादल सिंगौरी खेल्न नसक्ने, गोपाललाई उचालेर प्रचण्डलाई ‘फटाहा बाहुन हो’ भन्न लगाउने काम भएको भनिन्छ, खुमलटारतिर । पहिला बादलसँगै प्रचण्डलाई सिध्याउन लागेका मान्छेहरु आज गोपालसँग छैनन् । ती मान्छेलाई तानेर एमालेसँग एकता भएकै दिन पुरानै नाममा पार्टी पुनर्गठन गर्छु भन्दै पेरिसडाँडादेखि खुमलटारसम्म तताउन भ्याएका छन् । यदि उनी पक्षधर सांसद पनि पार्टी एकीकरणमा सहभागी बनेनन् भने एकीकृत पार्टीले ‘निजबाट दल त्याग भइसकेको…’ भनेर निर्वाचन आयोगलाई चार लाइनको चिठी लेख्दा सांसद पद समाप्त हुने कानुनी व्यवस्था छ ।

त्यसैले एकीकरणकै दिन नेकपा (माओवादी केन्द्र) नामकै पार्टी पुनर्गठन गर्ने र निर्वाचन आयोगलाई जानकारी पनि दिइहाल्ने हल्ला गरेका छन् । उक्त पार्टीमा विप्लवतिर गएका पदम राईलगायतलाई तान्ने भन्दै छन् । भोजपुरबाट अरुण, खोटाङबाट धिरनहरुलाई आफूतिर ल्याउने खेल छ । अन्त नसके पनि १ नं. प्रदेशमा एकीकरण असफल पार्छु भन्ने प्रण छ । 

स्मरणीय के छ भने, यसचोटि पनि गोपाल र अमिक शेरचन उपराष्ट्रपतिका आकांक्षी थिए । होइन्छ कि भनेर पनि चुनावभरि केही बोलेनन् । नन्दबहादुर पुन पहिलोचोटि उपराष्ट्रपति भएकै बेला पनि लफडा गरेका हुन् । 

टिप्पणीहरू