बस दुर्घटनाका १६ घाइतेको हेलिकप्टरमार्फत उद्धार

बस दुर्घटनाका १६ घाइतेको हेलिकप्टरमार्फत उद्धार

-लेखनाथ शिकारु

एम्बुलेन्स नपाएर अस्पताल पुर्याउन नसकिएका सवारी दुर्घटनाका गम्भीर घाइतेहरुलाई नेपाली सेनाले उद्धार गरेको छ । सोमबार बस दुर्घटनामा परि घाइते भएका १६ जना विरामी र तिनका कुरुवालाई सेनाले हेलिकप्टरमार्फत अस्पताल पुर्याएको हो ।

पाँचथरको फिदिमबाट थप उपचारका लागि सेनाको एम–१७ हेलिकप्टरमा राखेर घाइतेलाइ वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्याइएको प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार पर्याप्त एम्बुलेन्स व्यवस्थापन गर्न नसक्दा घाइतेहरुको स्वास्थ्य अवस्था थप जटिल हुने देखिएपछि सेनाले हेलिकप्टरबाट उद्धार गरेको हो ।

सोमबार फिदिम नगरपालिका–४ शिवादोभानबाट झापाका लागि हिँडेको को १ ख ३८६५ नम्बरको बस फिदिम नगरपालिका–४ सरखण्डेमा दुर्घटना भएको थियो ।

उक्त दुर्घटनामा घाइते भएका २८ जनालाई एम्बुलेन्समार्फत थप उपचारका लागि झापाका विभिन्न अस्पतालमा पुर्याइएको प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक डम्बर विश्वकर्माले जानकारी दिनुभयो । अहिले फिदिमस्थित समर्पित अस्पतालमा नौ जना र पाथीभरा अस्पतालमा आठ जना घाइतेहरुको उपचार भइरहेको छ ।

उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताललाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा घाइते भएकामध्ये चार जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी ज्यान गुमाउनेमा लेटाङ नगरपालिका–६ मोरङका ७ वर्षीय प्रज्वल मगर, इलामकी ३४ वर्षीया प्रमिला देवान र उनकै सात महिने छोरा निश्चल देवानको मृत्यु भएको हो । एक जना मृतक महिलाको पहिचान हुन सकेको छैन् ।

दुर्घटनाका मृतक र घाइतेहरु कुम्मायक गाउँपालिकाको यासोक बजारबाट ट्याक्सीमा निवु खोलासम्म आएका थिए । बाढीका कारण निवु खोलमा रहेको पुल भत्केकाले पैदल यात्रा गरी पुल तरेर उनीहरु बसमा चढेका थिए । तर बस केही किलोमिटर पार नगर्दै दुर्घटना भएको थियो ।

यसअघि तीनदिनसम्म भएको वर्षाका कारण मेची राजमार्गसहितका सडकहरु अवरुद्ध भएका थिए । दशैं मनाउन गाउँ तथा आफन्तकहाँ आएकाहरु सडक सहज भएपछि उक्त बसमार्फत गन्तब्यतर्फ जाँदै थिए ।

टिप्पणीहरू