भोलि पनि सर्वोच्चको इजलास ठप्प हुने

भोलि पनि सर्वोच्चको इजलास ठप्प हुने

आज बिहान र दिउँसो दुई पटक प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणासँग छलफलमा जुटेका १४ जना न्यायाधीशले भोलि बिहान साढे ११ बजे पुनः सामूहिक बैठक गर्ने भएपछि इजलास ठप्प हुने भएको हो । अस्ति दिउँसोदेखि सर्वोच्चको कुनै पनि इजलास सुचारु हुन सकेको छैन ।

१४ जना न्यायाधीशले प्रधानन्यायाधीश राणाकै कारण न्यायालय बदनाम भएको निश्कर्ष निकालेको बताइन्छ । उनीहरुले प्रधानन्यायाधीशले मार्गप्रशस्त गर्नुको विकल्प नभएको निश्कर्ष निकालेका छन् ।

अस्ति खाजाको समयपछि, हिजो दिनभर र आज बिहानैदेखि न्यायाधीशहरु राणाको विरुद्ध सामूहिक छलफलमा जुटेपछि तोकिएको इजलास पनि अघि नबढेको हो । प्रधानन्यायाधीश राणाले हिजो र आज दुबै दिन बिहानै इजलासहरु तोक्नुभएको थियो ।

आज ४५ मीनेट भएको छलफलमा राणाले सडकबाट माग्दैमा आफूले राजीनामा नदिने उल्लेख गर्नुभएको छ । उहाँले आफ्नो नियुक्ति संवैधानिक तवरले भएकाले बहिर्गमन पनि संवैधानिक नै हुने जवाफ फर्काउनुभएको हो ।

उहाँले ‘प्रश्न उठेका र उठाइएका सबै न्यायाधीशले मार्गप्रशस्त गरे आफू पनि तयार रहेको,’ जवाफ फर्काएपछि राणालाई भेट्न गएका न्यायाधीशहरु पुनः आन्तरिक छलफलमा जुटेका हुन् । न्यायाधीशहरुको पछिल्लो सामूहिक छलफलमा पनि प्रधानन्यायाधीश राणाले राजीनामा दिनुको विकल्प नरहेको निचोड निकालिएको छ ।

प्रधानन्यायाधीशमाथि प्रश्न उठेका कारण उहाँले पहिले राजीनामा नदिई न्यायपालिका सञ्चालन गर्न नसकिने निश्कर्ष न्यायाधीशहरुले निकालेपछि समस्या जकडिँदै गएको छ ।

राणाले स्पष्ट शब्दमा आफूले राजीनामा नदिने अडान दोहोर्याएपछि १४ जना न्यायाधीशहरु भोलि बिहान साढे ११ बजे फेरि अर्को छलफलमा जुट्ने बताइएको छ । यसबाट भोलि पनि सर्वोच्चको इजलास बस्ने सम्भावना टरेको छ ।

टिप्पणीहरू