​ओलीसँगै पाहुनाको ओइरो

प्रधानमन्त्री केपी ओली भारतबाट फर्किएसँगै नेपालमा राजदूतको कार्यकाल सिध्याएका र आ–आफ्नो समयमा निक्कै चर्चित तीन भाइ एउटै लर्कोमा काठमाडौं उत्रिएका छन् । 

नेपालको बस्तुस्थिति बुझ्न, कुनै विषयमा दबाब दिन वा कुनै निश्चित भूमिकासहित होइन, विशुद्ध तीर्थाटनका लागि आएका । ती हुन्, देव मुखर्जी, रञ्जित राय र श्यामशरण । उनीहरुको गन्तव्य हो, अपर डोल्पास्थित बाला त्रिपुरासुन्दरी । ‘कुछ तो प्रायश्चित भी करना है’ भन्दै निकटस्थहरुसँग भन्छन्, नाकाबन्दीकालीन राजदूत रञ्जित राय । देव मुखर्जी र श्यामशरणहरु अहिले सक्रिय भूमिकामा छैनन् । तर, सरकारी भूमिकामै रहेका रञ्जितका लागि भने नेपाल अनुभव दुईको तुलनामा अलिक फरक थियो । जाने बेलामा नेपालीलाई नाकाबन्दीको मारमा पार्नुपर्ने स्थितिसँग उनको खास सरोकार रहेछ र त्यही कुराको प्रायश्चित गर्नु उनको यो तीर्थाटनको उद्देश्य हुनुुपर्छ । भेट्न आएका केही व्यक्तिसँग उनी त्यस्तो कुरा गर्ने गर्दछन् । उनले नेपालमै कार्यरत रहँदा त्यहाँ प्राण प्रतिष्ठा स्थापित गरेका थिए । अहिले एउटा घण्ट चढाउने लक्ष्य राखेका छन् ।

यी पूर्वराजदूतहरुको भ्रमण व्यवस्थापन गर्दैछ, विक्रम पाण्डे सञ्चालक रहेको हिमालयन एक्सपिडिसनले । भारतीय दूतावासमार्फत यो जिम्मेवारी पाएको उक्त कम्पनीलाई अहिलेसम्म गन्तव्यतर्फ जानुपर्ने मिति र स्थानबारे केही बताइएको छैन । तर, उनीहरु एक्सपिडिसनको सम्पर्कमा छन् । जनआस्थाले सम्पर्क गर्दा एक्सपिडिसनका विष्णु भट्टराईले अपर डोल्पा जाने कुरा भने अस्वीकार गरे । ‘पश्चिम नेपाल भनिएको छ, डेट र डेस्टिनेशन उहाँहरुले दिनुभएको छैन, तर अपर डोल्पाचाहिँ हैन’, उनले सुनाए । यी पूर्वराजदूतहरु धार्मिक यात्राका लागि नभई ट्रेकिङका लागि आएको दूतावासले बताउने गरेको छ । उनीहरु अप्रिलको अन्तिम सातासम्म नेपालमा रहने छन् । जानुअघि पत्रकार सम्मेलन गर्ने र गैरराजनीतिक विषयमा आफ्नो धारणा पनि राख्ने दूतावासस्रोतले जनाएको छ । 

टिप्पणीहरू