मोती दुगडको घरबाट ओलीको गर्जन : एमाले भीम रावलको पछि लाग्दैन

मोती दुगडको घरबाट ओलीको गर्जन : एमाले भीम रावलको पछि लाग्दैन

-पूजा लम्साल

सुदूरपश्चिम प्रदेशका कुनै पनि जिल्लामा पार्टीको वडा अधिवेशन नभएको उपाध्यक्ष भीम रावलको भनाइको एमाले अध्यक्ष केपी ओलीले प्रदेश १ को राजधानी विराटनगरबाट खण्डन गर्नुभएको छ । गृहजिल्ला झापाबाट फर्केर केन्द्रीय सल्लाहकार तथा पूर्वमन्त्री मोती दुगडको विराटनगरस्थित होटल ह्रयारिसनमा बास बस्नुभएका ओलीले त्यहीँबाट रावललाई जवाफ दिनुभएको हो ।

सोमबार दुगडको होटलमा बस्नुभएका ओलीले आज बिहान पत्रकार भेटघाट गर्नुभयो । पत्रकारले सोधेका प्रश्नको जवाफ दिँदै उहाँले एमाले व्यक्तिको पछि नलाग्ने बताउनुभएको हो ।

‘भीम रावलले सुदूरपश्चिममा वडा अधिवेशन नै भैसकेको छैन भन्नुभयो । प्रभु साहहरु अर्को पार्टी दर्ता गराउँदैछन्,तपाईं के भन्नुहुन्छ ?’ पत्रकारहरुले ओलीलाई प्रश्न गरे । जवाफमा ओलीले भन्नुभयो, ‘कुन व्यक्तिले के भन्यो भन्ने कुराको पछि एमाले लाग्दैन, त्यो कुनै विवाद नै होइन बरु किन भनेको भनेर सोधपुछ गर्ने काम हुन्छ । अनि लोकतन्त्रमा नयाँ पार्टी खोल्न पाइन्छ,त्यो सामान्य कुरा हो ।’

ओलीले सर्वोच्च अदालतको विवादमा एमाले नफस्ने पनि बताउनुभयो । ‘एमाले सर्वोच्चको झगडामा फस्नेवाला छैन । किनभने अदालत स्वतन्त्र निकाय हो । हामी प्रधानन्यायधीशलाई राजीनामा दिनुपर्छ भन्दैनौँ,महाभियोग लगाउनुपर्छ पनि भन्दैनौँ । हामी न्यायालयको अशोभनीय राजनीतिमा फस्दैनौँ’,ओलीले भन्नुभयो ।

उहाँले अदालतमा भैरहेको सेटिङ नजिकबाट नियालिरहेको भन्दै आफूहरुले भने कुनै सेटिङ नगरेको पनि दावी गर्नुभयो । सर्वोच्चले प्रतिपक्षी दलको जस्तो भूमिका खेलेको भन्दै उहाँले आक्रोशसमेत पोख्नुभयो ।

सभामुख गुटको मतियार बनेर संवैधानिक मर्यादा उल्लंघन गरेको आरोप लगाउँदै अध्यक्ष ओलीले विभिन्न रुपमा प्रकट भैरहने सानो समूहले एमालेलाई बदनाम गराइरहेको र सिस्टममाथि निरन्तर प्रहार गरिरहेको दावी पनि गर्नुभयो । भन्नुभयो, ‘त्यो प्रहारलाई अहिलेको सरकारले पनि सघाइरहेको छ ।’

अध्यक्ष ओलीले एमालेले चाहेमा सरकार तुरुन्तै ढालिदिन सक्ने भएपनि अहिलेको भद्रगोल अवस्था जनताले अझै हेरुन् भनेर चुप लागेको बताउनुभयो । एमाले अर्ली इलेक्सनको पक्षमा छ कि छैन ? भनेर पत्रकारले सोधेको प्रश्नको जवाफ दिदै उहाँले भन्नुभयो, ‘छ कि छैन, चाहन्छ कि चाहदैन भन्नेतिर जाँदैन हामीलाई यत्ति थाहा छ चुनाव देशको आवश्यकता हो ।’

चीनले फेरि कम्युनिष्ट पार्टीहरुलाई मिल्न दबाब दिइरहेको चर्चाबारे सोधिएको प्रश्नमा पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले जवाफ दिनुभयो, ‘ए हो र ! त्यो त तपाईहरुलाई नै थाहा होला,हामीलाई कसैले केही भनेकै छैन त !’

टिप्पणीहरू