नेपाललाई भारतले भुटानजस्तै ठानेको छ : पूर्वडिआईजी रमेश खरेल

नेपाललाई भारतले भुटानजस्तै ठानेको छ : पूर्वडिआईजी रमेश खरेल

नेपाल प्रहरीका पूर्वडिआइजी रमेश खरेलले भारतले नेपाल पनि भुटानजस्तै आफ्नो योजनामा चलोस् भन्ने चाहेको बताउनुभएको छ । आज राजधानीमा आयोजित पूर्वसुरक्षाकर्मी परिषद् नेपालको कार्यक्रममा उहाँले उक्त कुरा बताउनुभएको हो ।

भारतीय पूर्वराजदूत रञ्जित रेद्वारा लिखित काठमाण्डौं डिलेमा पुस्तकको बारेमा चर्चा गर्दै खरेलले भन्नुभयो, ‘भारतले नेपाल पनि भुटानजस्तै गरेर चलोस् भन्ने चाहेको छ । नेपालले भारतसँगको सम्बन्ध राम्रो होस् भन्ने चाहेको तर राजनीतिक दलका नेताहरुको स्वार्थका कारण भारतको हेपाइमा परेको छ ।’

भारतीय पूर्वराजदूत रे अस्ति आइतबारदेखि काठमाडौंमा हुनुहुन्छ । हिजो त्यहि पुस्तकको समीक्षा गर्नुभएका रेले नेपाली राजनीतिक दलका नेताहरुसँग भेटघाट गरिरहनुभएको छ । रे काठमाडौंमा रहनुभएको बेलामा खरेलको उक्त धारणा आएको हो ।

भारतसँग झण्डै ७० स्थानमा सीमा विवाद रहेको बताउँदै उहाँले पूर्वसुरक्षाकर्मीले मात्र नभएर सबै नेपालीले भारतसँग प्रष्टसँग कुरा गर्नुपर्ने उल्लेख गर्नुभयो । ‘शासकहरु लम्पसारवादमा गए भने नेपाल छिट्टै सिक्किम हुनसक्ने,’ उहाँको चेतावनी छ ।

कुर्सी जोगाउन छिमेकी मुलुकको शरणमा पर्ने शासकहरु हुँदासम्म राष्ट्रियता नजोगिने खरेलको धारणा छ । उहाँले मुलुकमा अब नयाँ नेतृत्वको आवश्यकता परेकोतर्फ औंल्याउनुभयो । नेपाली काँग्रेसका नेताहरु नयाँ दिल्लीको दौडमा देखिएको बेलामा खरेलको उक्त धारणा आएको छ ।

उहाँले भन्नुभयो, ‘लिपुलेक र कालापानी आफ्नै भूभाग भएर पनि जनगणनाका लागि भारतको अनुमति किन चाहियो ?’ कार्यक्रममा पूर्वजर्नेल प्रेमसिंह बस्नेतलगायतले बोल्नुभएको छ ।

टिप्पणीहरू