भक्तपुरका किसानलाई धान काट्ने चटारो

भक्तपुरका किसानलाई धान काट्ने चटारो

गत साताको बेमौसमी वर्षाले मुलुकको पश्चिमी क्षेत्रका किसानलाई ठूलो क्षति पुर्यायो । भित्र्याउने बेलाको धान झरीले सखापै पार्यो । वर्षभरि खान पुग्ने अन्नबाली नष्ट भएपछि किसानहरु मर्कामा परेका छन् । वर्षभरिको मेहनत खेर गएपछि किसानहरु बिचल्लीमा परेका हुन् ।

यता, भक्तपुरका किसानहरुलाई भने उक्त झरीले खासै असर गरेन । सूर्यविनायक नगरपालिका ५, कटुञ्जेमा यतिखेर धमाधम धान काट्न थालिएको छ । असारमा रोपेको धानको बाला लहलहाउँदो भएकाले किसानहरुलाई धान काट्ने र भित्र्याउने चटारो थपिएको छ ।

लगातारको वर्षाले धान काट्न ढिलो भएको रामकुमारी खिउँजु बताउँछिन् । दशैंताका नै पाकेर पहेँलपुर भइसकेको धान व्यस्तताको कारण काट्न नपाएको र दशैं लगत्तै पानी परेकाले पर्खिएको उनको भनाइ छ ।

पहिले पहिले मानो रोपेर मुरी फल्ने बेला भनिन्थ्यो तर अचेल त्यस्तो छैन । रासायनिक मलको प्रयोगले उत्पादनमा झन् कमी आएको भक्तपुरका किसानहरु बताउँछन् ।

तिहार नजिकिँदै जाँदा किसानहरुलाई झनै भ्याइनभ्याइ छ । घरपरिवार र टोलछिमेक मिलेर रमाइलो गर्दै धान काट्दै गरेको दृश्यले अवलोकनकर्ताको मन आनन्द हुन्छ । भक्तपुरमा गाउँलेहरु पालैपालो मिलेर समूहमा धान काट्ने चलन छ ।

वर्षाले गर्दा अधिकाशं धानको बोट ढले पनि भक्तपुरमा त्यति धेरै क्षति नभएको किसानहरु बताउँछन् । यो वर्ष समयमै पानी परेको हुनाले भक्तपुर क्षेत्रमा बेलैमा धान रोप्ने काम सम्पन्न भएको थियो । भक्तपुरमा विशेषतः ताइचिन र मसिनो धान रोपिन्छ ।

अहिले धान झार्नको लागि अधिकांशले थ्रेसर मेसिनको प्रयोग गर्ने गरेका छन् । मेसिनले समयको बचत र परिश्रम लागत कम लाग्ने भएकाले किसानहरु दंग देखिन्छन् ।

टिप्पणीहरू