​वामदेवको बिजोग हालत बनाउँदै…

‘मुलुकको समृद्धिका लागि’ सहकारी सञ्चालन गर्न थालेका एमाले उपाध्यक्ष वामदेव गौतम आफ्नै पार्टीका नेताबाट ठगिएका छन् । थोरै पनि होइन, ३० लाख रुपैयाँ नतिरेका नेता उल्टै अहिले प्रदेश मन्त्री भएका छन् । 

गौतम अध्यक्ष रहेको किसान महासंघकै टिमले नयाँ कृषि अभियान कृषि सहकारी संस्था सञ्चालन गर्दछ र त्यसको अध्यक्ष पनि उनै हुन् । त्यही सहकारीबाट प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले एक वर्षअघि ३० लाख रुपैयाँ लगेका थिए, माछापालनका नाममा । तर, न कतै पोखरी खने, न माछा पाले । सहकारीका उपाध्यक्ष तथा पूर्वकृषि मन्त्री हरि पराजुली अनुगमनका लागि विराटनगर पुगेर जीवन घिमिरेको पोखरी खोजे, तर नभेटेपछि उनी अप्ठेरोमा परेका हुन् । किसान महासंघका नेता गणेश गुरागाइँले पहिल्यै भनिसकेका थिए, नपत्याएर पराजुली अनुगमनका लागि गएका हुन् । उक्त रकम असुल–उपर गराउन पराजुलीले काठमाडौं फर्किएर पार्टी केन्द्रीय नेतृत्व र किसान महासंघको बैठकमा समेत कुरा उठाए, तर पैसा उठेको छैन ।

मोरङमै पनि इस्टर्न स्टार कृषि सहकारी संस्थाका नाममा उनले प्रतिकठ्ठा तीन लाखका दरले जग्गा खरिद गरी केही दिनमै त्यसको मूल्यांकन प्रतिकठ्ठा १० लाख गराएर रकम हिनामिना गरेको आरोप एमालेको १ नंं. प्रदेश संगठन कमिटीमा दर्ज भएको छ । उनैमाथि पार्टीको नाममा रहेको को. २ प ६०१५ नं. को हिरोहोण्डा मोटरसाइकलसमेत आफ्नै स्वामीत्वमा रहेको मलखाद तथा वीउ–बिजन कम्पनीका कर्मचारीलाई चलाउन दिएको आरोप छ । 

टिप्पणीहरू