भारतबाट ब्राउनसुगरलगायतका लागुपदार्थ भित्रियो

भारतबाट ब्राउनसुगरलगायतका लागुपदार्थ भित्रियो

पछिल्ला दिनमा भारतीय सीमावर्ती शहर र बजारबाट नेपालमा नियमित रुपमा लागुपदार्थ भित्रिएको छ । यहि क्रममा बाँके, सर्लाही र सिराहाबाट लागु औषधसहित चार जना पक्राउ परेका छन् ।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१५, जमुनाह नाकाबाट १५ ग्राम ब्राउनसुगर सहित काभ्रेपलाञ्चोक महादेवस्थान गाउँपालिका ३ का ३४ वर्षीय मानबहादुर रोकालाई हिजो पक्राउ गरिएको छ । भारतबाट आउँदै गरेका उनलाई प्रहरीले जाँच गर्ने क्रममा समातेको हो ।

यस्तै, सर्लाहीको ब्रह्मपुरी गाउँपालिका ४, त्रिभुवननगरबाट छ हजार ट्याब्लेट नाइट्राभेट, ५४ एम्पुल नुर्फिन, ६४ एम्पुल डाइजेल्याब र ६० एम्पुल फेनारगनसहित दुई जनालाई हिजो साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा हरिऔन नगरपालिका ५ का ३० वर्षीय गोविन्द थापा र २६ वर्षीय सञ्जय थापा छन् । भारतबाट नेपालतर्फ आउँदै गरेको बा.९४ प ४२३५ नम्बरको स्कुटरलाई चेक जाँच गर्ने क्रममा उक्त लागुऔषधसहित उनीहरु पक्राउ परेका हुन् ।

यता, सिरहा नगरपालिका १८, इटारी टोलबाट १ सय पिस फेनारगन, १ सय पिस डाइजेपाम र १ सय पिस नुर्फिनसहित अर्नामा गाउँपालिका ३ का २३ वर्षीय पप्पु दास पनि हिजो पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय (ख) सिरहाबाट खटिएको प्रहरी टोलीले स.४ प ७६०८ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनीहरु लागुऔषधसहित पक्राउ परेका हुन् ।

टिप्पणीहरू