न्यायाधीश र प्रधान न्यायाधीश अहिले आम्नेसाम्ने

न्यायाधीश र प्रधान न्यायाधीश अहिले आम्नेसाम्ने

इजलास ‘बंक’ गरेर छुट्टै छलफल चलाएका सर्वोच्च अदालतका १४ जना न्यायाधीश प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणालाई भेट्न त्यसतर्फ लागेका छन् ।हिजै प्रधानन्यायाधीशसँग भेट्ने निर्णय गरेका उनीहरु आज बिहान थप छलफल गरेर भर्खरै राणाको कार्यकक्षतर्फ लागेका हुन् ।

प्रधानन्यायाधीश राणालाई भेटेर आफ्ना कुरा राख्ने र उहाँको जवाफपछि आजै छलफल गरेर थप रणनीति तय गर्ने तयारी रहेको बुझिएको छ । स्रोतका अनुसार प्रधानन्यायाधीशसँग कुरा गर्नका लागि अनौपचारिक आचारसंहिता समेत बनाइएको छ । जसअनुसार न्यायाधीश डा. आनन्दमोहन भट्टराईले सबैका तर्फबाट कुरा राख्नुहुने छ ।

जनाइएअनुसार आजको छलफलमा दुई जना न्यायाधीश थपिनुभएको छ । अघिल्ला बैठकमा सहभागी नहुनुभएका न्यायाधीशद्वय नहकुल सुवेदी र कुमार चुडाल आजको बैठकमा सहभागी भएको बुझिएको छ ।

प्रधानन्यायाधीश राणाका कारण न्यायालय विवादित भएको भन्दै उहाँविरुद्ध १४ जना न्यायाधीश अस्तिदेखि निरन्तर छलफलमा हुनुहुन्छ । सोहीअनुसार उहाँहरुले आज प्रधानन्यायधीशलाई भेट्न लाग्नुभएको हो ।

टिप्पणीहरू