​दिल्लीतिर अब यी भटाभट दौडने

ओली फर्किएलगत्तै मधेसी दलका नेतालाई दिल्लीले भटाभट बोलाउन थालेको छ, प्राप्त जानकारीअनुसार मंगलबार महन्थ ठाकुर र सोमबार महेन्द्र यादव निम्तो मान्न गैसकेका छन् । अबको पालो राजेन्द्र महतोको हो । प्रधानमन्त्रीसँगै गएका राजपाका नेता अनुभूति सुनाउँछन्, ‘त्यहाँ राम्रो आदर सत्कार भयो । ओलीलाई प्रभावित पार्न सक्ने जति खातिरदारी गरियो ।

चलनचल्तीको मापदण्डभन्दा माथिको सम्मान दिएर नेपालको संविधानलाई स्विकारेको देखाउने काम भयो । संयुक्त विज्ञप्तिमा भारतले नेपालको संविधान स्विकारेको प्रसंग राख्दा अरू पक्षलाई असर पर्न सक्छ । बिच्क्याएजस्तो अर्थ लाग्छ, त्यसैले सोही संविधानअन्तर्गत तीन प्रकारका चुनाव सम्पन्न गरेकोमा बधाई भन्नुको अर्थ त्यही हो भन्ने जिकिर भारतीय पक्षले राखेको बताइन्छ । यसरी पहिलेको अडानझैं सर्वस्वीकार्यता, समावेशिताको कुरा अब हामी उठाउँदैनौं भन्ने सन्देश दिएको हुनुपर्छ । मधेसी नेता सरकारमा गए पनि वा नगए पनि एकपल्ट बोलाएर सम्झाउने योजनाअनुरूप नै अहिले राजपाका नेताले निम्तो पाएका हुन् । मोदी नेपाल आएर ठूला विकासे परियोजनामा सम्झौता गर्ने र सोही बेला मधेसको विकास योजना पनि समावेश गर्ने तयारी रहेको स्रोत बताउँछ । प्रदेश नं. २ लाई लक्ष्य गरी छुट्टै कार्यक्रम अगाडि सार्दा अन्यत्र गलत सन्देश जाने भएकाले केन्द्रिकृत सहयोगमा तराईलाई पनि पार्ने योजना छ ।

सरकारी तहका सामुहिक भेटघाटमा त्यस्तो हिसाबले केही नभनिए पनि तराईलाई धोका दिएको, बीचैमा अलपत्र छाडेको महसुस नहुने गरी मधेसी नेतालाई रिसेप्सनका बेला तानेर सरकारको वरिपरि रहेका नेता, व्यापारी, कर्मचारी र पत्रकारबाट ‘तपाईंहरू असन्तुष्ट हुनुपर्ने कुनै कारण छैन । र, अहिले नै आफ्ना मुद्दा छाडिहाल्नुस् पनि भन्दैनौं’ भन्दै ढाडस दिइएको बताइन्छ । भारतले नेपाललाई हामीबाट जे–जे लिनु छ लिए हुन्छ तर चाइनिजको ट्य्रापमा चाहिँ नपर भन्ने सन्देश दिन खोजेको छ । काठमाडौं–केरुङ रेलमार्गको प्रत्युत्तरमा रक्सोल–काठमाडांै रेलवे भारतको चाहनामा अगाडि बढाइएको हो । यदि, चिनियाँ रेल काठमाडौंसम्म आए पनि लुम्बिनीसम्मचाहिँ नजाओस् भन्ने दक्षिणी चाहना पाइन्छ । भारतीय रेललिक र चिनियाँ रेललिक पनि एकै प्रकारको नहोस् भन्ने चाहना राखेको बताइन्छ ।

उसको चासो के रहेछ भने भारतले बनाएको रेलमार्ग हुँदै चिनियाँ रेल सीमासम्म पुग्ने वातावरण बन्न दिनु हुँदैन । सरकारका मान्छेले अब नेपाल पुगेर सकारात्मक कुरा गर्नुपर्छ भन्ने आग्रह मधेसी नेतासँग गरेको समेत भ्रमणमा सहभागी एक सदस्यले बताएका छन् । राजपा अध्यक्ष मण्डलका राजकिशोर यादवले महन्थ ठाकुर र महेन्द्र यादवको भारत भ्रमण नितान्त व्यक्तिगत र पूरापूर उपचारमा केन्द्रित रहेको बताए । उनका अनुसार राजेन्द्र महतो मंगलबार जनकपुरतर्फ लागेका छन् । 

टिप्पणीहरू