​धनाढ्यहरू फेरि अदालत धाउँदै

पैसावाललाई अनेक धन्दा गरेर कमाएको सम्पत्ति कहाँ हालौं भन्ने ठूलो चिन्ता हुँदोरहेछ । त्यसैले एकातिर हाल्यो– डुबायो, फेरि थप्यो– लोभ ग¥यो । सुमार्गीको नाममा विदेशबाट पठायो, वर्षौंसम्म बैंकमा अड्किन्छ । फेरि निकाल्न चारतिर धाउनुप¥यो । श्रीमानलाई करोडका करोड बुझाएर अदालतबाट आदेश फुत्काउन उस्तै सकस । अहिले त्यस्तै अर्को लफडामा उपेन्द्र महतो फसेका छन् ।

उनको नख्खु ललितपुरस्थित अन्तर्राष्ट्रिय स्तरको मेडिसिटी अस्पताल जब चम्कँदै गयो र त्यहाँ विदेशबाट समेत ठुल्ठूला घरानियाँ उपचार गर्न आउन थाले त्यसपछि कानुनी झमेला पनि थपिएको छ । अब नेपाली राम्रो उपचार गर्न विदेश जाने होइन कि विदेशीचाहिँ बरु यता आउने वातावरण बनाउने हो भन्दै उपेन्द्र हालै भुटानी राजपरिवारका सदस्यहरूले आफ्नो अस्पतालमा उपचार गराएको सगर्व सुनाउन थालेका छन् । अहिले त्यहाँ २० देखि २५ लाखसम्म मासिक तलब दिएर डाक्टरहरू यताउताबाट जम्मा गरिएको छ । ओम, ग्राण्डी, नर्भिकका डाक्टर पनि त्यहाँ जान्छन् । ओममा कार्यरत डा. अञ्जनीकुमार शर्माका छोरा डा. सुनीलले पनि सिनियर सर्जनका रूपमा मेडिसिटी जोइन गरेका छन् ।

अहिले त्यही मेडिसिटीका मालिक महतो ग्राण्डीमा आफूमार्फत एक जना भारतीयले गरेको लगानी फिर्ता लिन अदालतको शरणमा पुगेको खबर छ । ग्राण्डी अस्पताल विजय राजभण्डारी र दीपक कुँवरले मिलेर शुरु गरेका हुन् । शुरुमै दीपकले १८ रोपनी जग्गा किन्दा राम्रै आम्दानी गरे । उता, रूपज्योतिहरूले पनि हिमाल आइरनका रड भिडाएर अलिकति भोजन गरे । मेडिकल उपकरण खरिदमा डा. चक्रराज पाण्डेले झन् भाग नपाउने कुरै भएन । पाण्डे त्यहाँका कार्यकारी निर्देशक हुन् । अस्पताल शुरु गर्दा प्रमोटरका रूपमा व्यापारीले रु ६० करोड र इन्भेस्टमेन्ट तथा एभरेष्ट बैंकले बाँकी ४० करोड लगानी गरेका थिए । यसरी अस्पताल शुरु भयो । पछि राजा ज्ञानेन्द्रका अर्थमन्त्री रूपज्योतिले बैंककको समितिभेज अस्पतालबाट लगानी भिœयाउने वाचा गरे । उताबाट १ सय करोड ल्याएर जम्मा २ अर्ब ४० करोडको पुँजी बनाउने तयारी भयो ।

तर, पछि बैंकक बिच्कियो । यस्तो भएपछि ग्राण्डीमा आर्थिक संकट देखियो । यही मेसोमा रूपज्योतिले हस्पिटल सस्तोमा आफ्नो बनाउने चाहना राखे । यही बेला ‘भगवान’को रूपमा प्रकट भए उपेन्द्र महतो । उनले ५१ करोड लगानी गरे । बाहिर उनी देखिए पनि पछाडि थिए भारतीय व्यापारी बिआर सेठ्ठी । खाडीलगायत संसारका धेरै देशमा यिनको लगानी छ । ग्राण्डीमा रूपज्योतिको पहिले २० करोडको लगानी थियो तर पछि घट्यो । उपेन्द्रहरूले बहुसंख्यक सेयर आफूहरूले लिने इच्छा राखे । तर, रूपज्योतिले मानेनन् । यहीँनेर कुरा मिलेन र पैसा फिर्ता माग्न थाले । पैसा पाएनन् र अन्ततः महतो अदालतको शरणमा पुगेका छन् । ग्राण्डीमा एक वर्षको अवधिमा प्रमोटरहरूलाई ९० करोड घाटा लागिसकेको छ । बालाजुस्थित माओवादी लगानीको जनमैत्री अस्पतालजस्तै गरी ग्राण्डी पनि लगभग बन्द हुने स्थितिमा पुगेको बताइन्छ । कुँवर र पाण्डेले चाहिँ ‘हामीलाई लगानी गर्छु भनेर महतोले झुलाए, अरू लगानीकर्ता ल्याउन पनि दिएनन्, अहिले घाटा पारेर रकम फिर्ता माग्छन्, हामी दिन सक्दैनौं ।’ भन्ने गरेका छन् । हामीलाई यसबीच उल्टै ८३ करोड नोक्सान परेको छ र त्यो घाटामध्येको उल्टो ३० करोड पाउनुपर्ने हुन्छ भन्ने उनीहरूको तर्क छ । 

एनसेलको सेयर बेच्दा पुँजीगत लाभकरबापतको ४ अर्ब १३ करोड २० लाखभन्दा बढी नतिरेर अदालती सेटिङमार्फत राहत पाएका उपेन्द्र महतोले हस्पिटलविरुद्ध मुद्दा हालेका छन् । राज जानकी इन्भेष्टमेन्ट प्रालिमार्फत रिभन बिजनेस लिमिटेड बैंक हँुदै ग्रान्डी इन्टरनेशनल प्रालिको नाममा एक अर्ब सात करोड रुपैयाँ अग्रिम भुक्तानी पठाएबापत प्रतिफल चाहियो वा लगानी फिर्ता भन्दै महतोले दाबी पेश गरेका हुन् । 
पहिला उनले ५१ करोडको सेयर हिस्सा खोज्दै मुद्दा हालेका थिए । दोस्रोपटक ग्रान्डीको बैंक खाता रोक्काको माग गर्दै मुद्दा दर्ज गर्न भ्याएका छन् । सोउपर काठमाडौं जिल्ला अदालतका न्यायाधीश भरत लम्सालको इजलासले बैंक खाता रोक्का गर्न आदेश दिएको छ । यससँगै ग्रान्डीको नाममा रहेको विभिन्न १४ वटा बैंक खाता रोक्का भएको छ । 

टिप्पणीहरू