मृत शरीरमा पार्टीको झण्डा ओढाउन हेलिकोप्टर चार्टर

मृत शरीरमा पार्टीको झण्डा ओढाउन हेलिकोप्टर चार्टर

नेपाली कांग्रेस धादिङका पूर्व जिल्ला कमिटी सदस्य जोमसाइ घलेको अन्त्येष्टीमा पार्टीको झण्डा ओढाउन कांग्रेस जिल्ला नेताहरु हेलिकप्टर चार्टर गरेर तिप्लिङ पुगेका छन् ।

घलेको पार्थिव शरीरमा श्रद्धाञ्जली दिन जिल्ला सभापति रमेश धमलासहितका नेताहरु धादिङबेसीबाट हेलिकप्टर चार्टर गरी विकट वस्ती पुगेर फर्किएका हुन् । उत्तरी धादिङको पेरीफेरीमा रहेर राजनीतिमा सकृय घलेको अधिवेशनको संघारमा असामयिक निधन भएकाले पनि नेताहरूमा अलि बढी चासो बढेको हो ।

सोमबार बिहान रुबिभ्याली गाउँपालिका वडा नम्बर २,तिप्लिङ निवासी घलेको मस्तिष्कघातका कारण निधन भएको थियो । सभापति धमलासहित पूर्व राज्यमन्त्री एवं महासमिति सदस्य दिलमान पाख्रिन,बासु तिमल्सिना, तिलक रुवाली,यामनाथ दनै,नेता भीम ढुंगानासहित दर्जनभन्दा बढी नेताहरुले घलेको घरमै पुगेर कांग्रेसको झण्डा ओढाई श्रद्धाञ्जली दिएका छन् ।

उपसभापति भक्त लामा, सचिव विनोद तिमल्सिना, महाधिवेशन प्रतिनिधिहरू नारायणकुमार श्रेष्ठ, राकेश धमला,जिल्ला सदस्य कुलबहादुर गुरुङ,पूर्व महासमिति सदस्य शेरबहादुर तामाङ,क्षेत्रीय सभापति योगबहादुर तामाङ लगायत नेताहरू पनि पुगेका थिए ।

मृतक घलेको गाउँमै अन्त्येष्टी गरिएको छ । घलेको ६५ वर्षको उमेरमा शनिबार बेलुका उच्च रक्तचापले ढलेपछि उपचारको लागि तिप्लिङ स्वास्थ्य चौकीमा लगिएको र थप उपचारका लागि काठमाडौं लैजाने तयारी हुँदाहुँदै मस्तिष्कघातका कारण निधन भएको परिवार श्रोतले बताएको छ ।

टिप्पणीहरू