​जर्नेल अन्ततः जेलतिर

कृषि विकास बैंक ठगीकाण्डमा एक करोड धरौटी बुझाउन नसक्दा नेपाली सेनाका जर्नेल तथा आँखाका डाक्टर रमेश विष्ट सदरखोर डिल्लीबजार चलान भएका छन् । सुगर, प्रेसर र मुटुको रोगले गालिसकेको पातलो ज्यान भएका उनले लामो समय सैनिक हिरासतमा बिताइसकेका थिए । हिरासत अवधीमै छाउनीस्थित सेनाको अस्पतालमै पनि केही समय बसे । सोही बैंकमा टेलरका रुपमा काम गर्ने दीपिका रेग्मीसँग ‘भाञ्जी’ नाता भन्दै अन्य किसिमका गतिविधिमा लाग्दा उनी यसरी फसेका हुन् । 

सदरखोरमै रहेका पूर्वआइजिपी हेमबहादुर गुरुङ भने छुटेका छन् । सुडान घोटाला प्रकरणमा जेल चलान भएका गुरुङ छुटे पनि त्यही मुद्धाका अर्का आरोपी ओमविक्रम राणाको अझै एक वर्ष कैद बाँकी छ । त्यसमै मुछिएका रमेशचन्द ठकुरीचाहिँ अहिलेसम्म जेलबाहिरै छन् । किनभने, सुशीला कार्कीले नियमतः आदेश दिएको १४ दिनभित्र अन्तिम फैसला दिनुपर्नेमा एकवर्षसम्म झुलाइन् । यस्तो अन्यौलताले गर्दा कोही पूर्वआइजिपी बाहिर, कोही भित्रको स्थितिमा भएका हुन् । त्यसमाथि समन्यायको सिद्धान्तविपरित एउटै कसुरमा कसैलाई मागदावी भन्दा ज्यादा वा कानुनमा तोकेभन्दा बढी त कसैलाई उदारतापूर्वक कम सजायँ तोकिएको छ । 

डिल्लीबजार, सदरखोरमै माओवादी नेता बालकृष्ण ढुंगेल, पत्नी हत्याको अभियोगमा सशस्त्रका तत्कालिन डिआइजी रञ्जन कोइराला पनि छन् ।

टिप्पणीहरू