​काटकुटमा को–को क्रुद्ध !

प्रधानमन्त्री केपी ओलीसँग उपेन्द्र यादवको फोरम पनि बिच्किएको छ । ओली भारत भ्रमणमा जानुअघि उपेन्द्र यादवसँग पाँच मिनेट झण्डै उभिई उभिई जस्तो संक्षिप्त छलफल भएको थियो । सरकारमा आउन ठिक्क परिसकेको संघीय समाजवादी फोरमका लागि सहमति गरिएझैं मन्त्रालय सग्लो नछाडिएको गुनासो छ । शहरी विकास र खानेपानी मन्त्रालय एउटै राख्ने समझदारी थियो । तर यसबीच, सीधै जनतासम्म पुग्न सहज हुने खानेपानी मन्त्रालयलाई शहरी विकासबाट छुट्याएर प्रचण्डकी बुहारी बिना मगरलाई जिम्मा लगाइयो । स्वास्थ्य र जनसंख्या मन्त्रालय पनि फोरमलाई नै दिने भनिएको हो । त्यसमा पनि पद्मा अर्याललाई एमालेबाट राज्यमन्त्री बनाएर पठाइएको छ ।

केही साताअघि राज्यमन्त्री भए पनि मन्त्रालयको सबै काम क्याबिनेट मन्त्री सरह गर्न उनलाई अधिकार दिइसकिएको छ । प्रचण्ड, केपी र उपेन्द्रबीच भएको सहमतिमा उपेन्द्र स्वयंले शहरी विकास तथा खानेपानी मन्त्रालय चलाउने कुरा भएको तर, त्यसबाट खानेपानी छुट्याइएको बताइन्छ । बिना मगरलाई सिञ्चाइ मन्त्रालय दिने भनिएकोमा त्यसलाई वर्षमान पुनले चलाउने जलस्रोत तथा ऊर्जामा लगेर गाभियो । उपेन्द्रले यसरी धोका पाइयो भन्दै चित्त दुखाएको स्रोतको दाबी छ । स्रोत भन्छ, त्यही भएर ओलीको भ्रमण टोलीमा फोरमले अन्तिमसम्म पनि आफ्नो पार्टीको तर्फबाट प्रतिनिधिको नाम दिएन । तर, पटक÷पटक घच्घच्याइएपछि लौन त भन्दै वीरगञ्ज उपमहानगरपालिकाका पूर्वमेयर विमल श्रीवास्तवलाई पठाइएको हो । अहिले उपेन्द्र यादवचाहिँ यसरी टुक्रा पारिएको नाम मात्रको मन्त्रालयभन्दा त मलाई परराष्ट्र नै ठीक थियो भन्न थालेका छन् । 

टिप्पणीहरू