​पत्रै नबुझी विदेश प्रस्थान

उच्च तह र ओहोदामा बसेका मान्छेलाई इज्जत, प्रतिष्ठाको चाहिँ अलिकति पनि ख्याल नहुने रहेछ । झन् नियम र निर्देशन कार्यान्वयन गर्नु/गराउनुपर्ने जिम्मेवारीमा रहेकाले नै त्यसको ठाडो उल्लंघन गर्दा भद्रगोल हुनु त स्वाभाविकै भयो । अर्थसचिव शंकर अधिकारीको चर्चा हो यो । शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा चाहेर, रोजेर राज्यको ढुकुटी जिम्मा पाएका व्यक्ति हुन् उनी । शुक्रबार सचिव सरुवाको लटमा परेर उपराष्ट्रपति कार्यालय पुगेका अधिकारी नयाँ जिम्मेवारीमा पुग्नुअघि नै आइतबार पुरानै हैसियतमा जापानतर्फ उडेका छन् । उनले टोकियोमा आयोजित उच्च तहका कर अधिकृतहरूको कार्यशाला गोष्ठीमा भाग लिँदैछन् । करसम्बन्धी एसिया प्रशान्त क्षेत्रका हाकिमको कार्यक्रममा सहभागी हुनुपर्ने आन्तरिक राजश्व, भन्सारलगायत कार्यालयमा महानिर्देशक, उपमहानिर्देशक नभएका होइनन् ।

त्यो विषयसँग सम्बन्धित सहसचिव तहका कर्मचारी नै अर्थअन्तर्गत करिब ७ जना छन् । तीमध्ये कसैलाई नलगीकन उनी त्यसह–सचिवलाई लिएर गए जो आफैंले लोकसेवा आयोगमा सरुवा हुन पाऊँ भन्दै निवेदन हालिसकेका छन् । अब सचिव उपराष्ट्रपति कार्यालयमा र सहसचिव लोकसेवा आयोगमा जाने भएपछि उनीहरूले जापानमा सिकेको ज्ञान र सुनेको अनुभव यो मुलुकले कसरी उपभोग गर्ला ? प्रश्न त्यति मात्र होइन, मुलुकको ढुकुटीको सबै तालाचाबी बोकेका, रकमान्तरदेखि बजेट यताउता गर्ने सबै अधिकारप्राप्त जिम्मेवार सचिव सरुवा भएको पर्सिपल्ट रमाना पत्रसमेत नबुझीकन यसरी विदेशतर्फ उड्नुलाई कसरी हेर्ने ? अधिकारी मन्त्रालयको राजश्व अनुसन्धान महाशाखा प्रमुख शोभाकान्त पौडेललाई लिएर त्यसतर्फ हान्निएका हुन् । हुन त सरकारी खर्चमा नभएर दाताले नै गर्ने गरी यी दुई भाइ गएको बताइन्छ । तर त्यो सचिव नै जानुपर्ने कार्यक्रमचाहिँ थिएन । द्विपक्षीय सम्झौतामा हस्ताक्षर गर्न सचिव तहको कर्मचारी गएको भए खासै टिप्पणी हुने थिएन । तर उनी त एउटा गोष्ठीमा भाग लिन मात्र निम्त्याइएका हुन् । उता गृहमन्त्रालयमा फेरि अर्को रमिता छ ।

गृहमन्त्री बादललाई राजश्व अनुसन्धान विभागमा बसेर राम्रोसँग आर्थिक संकलनको नेटवर्क बनाएका र काठमाडौंमा सिडिओ हुँदा सिण्डिकेट नै खडा गरेका एकजना कर्मचारीले उल्काएर उपद्रो मच्चाउन थालेका छन् । राजश्वबाट गृहमा सरुवा हुँदा मातहतलाई ‘म गृहमा गएँ भनेर ढुक्क नहुनुहोला । त्यहाँ बसेर आर्थिक र शान्ति सुरक्षा जोडिएका महाशाखा नै हेर्ने हो । तपाईंहरूमाथि त्यहाँबाट पनि निरन्तर निगरानी रहन्छ ।’ भन्दै सहकर्मीहरूलाई बिदाइ कार्यक्रममा थर्काएर हिँडेका उनी अहिले मन्त्री बादलको कान फुक्न जुटेको बताइन्छ । उनले मन्त्रीलाई ‘हजुर, संगठित अपराध बढ्दो छ । आर्थिक अपराधले सीमा नाघ्यो । अब भारतलगायत देशबाट आएका हरेक कन्टेनर र भन्सारका ठूला गोदाममा छापा मार्नुपर्छ ।’ भन्ने गरेका छन् । मन्त्रीले पनि यी कर्मचारी आफैंचाहिँ आर्थिक अनुशासनमा कति पक्का हुन् । कति शुद्ध र पवित्र छन् भन्ने नहेरिकन अर्थमन्त्रीलाई छापा मार्न सल्लाह दिँदै हिँडेको बताइन्छ । उता, सञ्चयकोषमा प्रमुखका लागि अर्थ मन्त्रालयबाट तीन जनाको नाम सिफारिस भएको छ । वित्तीय क्षेत्र व्यवस्थापन महाशाखा प्रमुख उत्तरकुमार खत्रीको संयोजकत्वमा गठित टोलीले निमित्त प्रमुख दीपक रौनियार, राष्ट्रिय योजना आयोगमा कार्यरत तुलसी गौतम र चेलीबेटीको केसमा राम्रै बदनाम राजेन्द्र काफ्लेको नाम छानेको हो । यो सूची क्याबिनेटमा पुगिसकेको स्रोतले बताएको छ । 

टिप्पणीहरू