रञ्जित रेको पुस्तक समीक्षा गर्दै प्रचण्डले के के भन्नुभयो ?

रञ्जित रेको पुस्तक समीक्षा गर्दै प्रचण्डले के के भन्नुभयो ?

नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको सार्वभौमिकताको भारतले सम्मान गर्नुपर्ने बताउनुभएको छ । सोमवार नेपालका लागि पूर्वभारतीय राजदूत रञ्जित रेद्धारा लिखित ‘काठमाण्डू डिलेमा : रिसेटिङ इन्डिया–नेपाल टाइज’ पुस्तकमाथि टिप्पणी गर्दै अध्यक्ष प्रचण्डले नेपाल हालसम्म स्वतन्त्र राष्ट्रको रुपमा रहेको र नेपालको स्वतन्त्रता र सार्वभौमिकताको भारत सरकारले सम्मान गर्नुपर्ने बताउनुभएको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संविधानसभामा नेपाल सार्वभौमसत्ता सम्पन्न राष्ट्र हो भन्दा सांसदहरुले तालि बजाएको स्मरण गर्न आग्रह गर्नुभयो । नेपाल-भारत सीमा समस्या विद्यमान रहेको उल्लेख गर्दै प्रचण्डले सम्वादको माध्यमबाट समाधान गर्न सकिने तर्क गर्नुभयो ।

‘मोदीजीले जसरी आएर संविधानसभामा बोल्नुभयो, जतिबेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजीले नेपाल स्वतन्त्र सार्वभौमसत्ता सम्पन्न राष्ट्र हो भन्दाखेरी तालि । यसो हेर्दा त तालि लगाउनुपर्ने कुरा त होइन । सार्वभौमसत्ता सम्पन्न नेपाली राष्ट्र हो नि । उहिले नि थियो । अहिले नि छ भोली नि हुन्छ । तर हामीले तालि लगाइयो त्यहाँ । बडो उत्तेजित भइयो खुशी भइयो । यो कुराको हिसाबचाहीँ अलि राम्रोसँग भारतले गर्नुपर्छ भन्ने लाग्छ मलाई भारतीय नेतृत्वले, बुद्धीजिवीहरुले ‘, उहाँले भन्नुभयो ।उहाँले थप अगाडि भन्नुभयो, ‘नेपालीहरु बुद्ध नेपालमा जन्मेका हुन् भन्दा खुशी हुन्छन् । जन्मिएकै हुन् नि त्यत्रो ठूलो उत्पात त हुनुपर्ने कुरो होइन । तर नेपालमै जन्मिएका हुन् भन्दामात्रै बल्ल खुशी भइन्छ । कसैले अर्को कुनै भाषा प्रयोग गर्यो, बुद्धले बुद्धत्व प्राप्त गरेको त भारतमा हो नि भन्यो भने त्यति मिठो लाग्दैन । जन्मिएको त नेपालमै हो नि भन्न मन लाग्छ ।’

नेपाली जनताको यो मनोविज्ञानको भारतले विश्लेषण गर्नुपर्ने प्रचण्डको भनाइ छ । ठूलो राष्ट्रका रुपमा भारतले दुईदेशीय सम्बन्धका सम्बन्धमा भूमिका पनि ठूलै खेल्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो । ‘ठूलो राष्ट्रको जमिन पनि धेरै छ । जनसंख्या पनि धेरै छ । ठूलो राष्ट्रले सानो राष्ट्रलाई थोरै थोरै जमिन सानोको उतापट्टी पस्यो भनेपनि खासै फरक पर्दैन । सानो ठूलोकोमा पस्यो भने त हालत खराब हुन्छ नि सानोको त । यो सेन्सिटिभिटीलाई पनि भारतिय नेतृत्वले, भारतिय बुद्धिजिवीहरुले गहिरोगरी समिक्षा गर्नुपर्दछ भन्ने मलाई लाग्छ’, उहाँको जोड छ ।

प्रचण्डले नेपालको राष्ट्रिय स्वार्थमा भारतले बाधा नपुर्याएमा भारतसँग मित्रता हुने पनि बताउनुभयो । नेपाल र भारतले एक अर्काको राष्ट्रिय स्वार्थमा बाधा नपुर्याई सहयोग गर्ने प्रक्रियाको सुरुवात गरे दुई देशबीचको सम्बन्ध सुदृढ हुने उहाँको दावी छ ।

उहाँले नेपालमा चलेको दशवर्षे जनयुद्धलाई शान्ति प्रक्रियामा ल्याउनका लागि भारतको सकारात्मक धारणा भएका कारणले सम्भव भएको पनि बताउनुभयो । भारतको सकारात्मक धारण नभइदिएको भए माओवादी वा तत्कालीन सात दलको मात्रै चाहानले मात्रै शान्ति प्रक्रियामा आउन सम्भव नहुने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो, ‘एउटा के कुरा सत्य हो भने सबैको सहयोग नभइकन त यो शान्ति सम्झौता भएको होइन । हुनत कतिपय शक्तिकेन्द्रहरु यो शान्ति सम्झौता हुनै नपाओस् भनेर अन्तिम समयसम्म पनि बल गरेको पनि हामीलाई थाहा छ । तरपनि नेपालको राजनीतिक शक्तिहरु, लोकतान्त्रिक राजनीतिक शक्तिहरु र हाम्रा छिमेकीहरु यो प्रक्रिया अगाडि आओस् भन्ने सहयोगको भावना नभएको भएपनि हामीले माओवादीले चाहेर मात्रैपनि यो ठाउँमा आउन सकिदैनथ्यो त्यो कुरापनि म सिन्सियर्ली राख्न चाहान्छु । त्यो माओवादीले मात्रै चाहेर या त्यतिबेलामा सात राजनीतिक दलले मात्रै चाहेर मात्रै पनि त्यो सबै सहज ढंगले सम्पन्न हुन सक्दैनथ्यो । हाम्रा छिमेकीहरुको, अझ त्यसमा भारतको सकारात्मक धारणा हुनैपथ्र्यो, भयो । त्यसकारण हामी अहिले यहाँ छौँ ।’

अध्यक्ष प्रचण्डले माओवादी जनयुद्ध भारतको सहयोगमा भएको भन्ने प्रचारबाजी झूठो भएको पनि उल्लेख गर्नुभयो । माओवादी जनयुद्धलाई भारतको कुनैपनि प्रकारको सहयोग नरहेको उहाँले स्पष्ट पार्नुभयो ।

टिप्पणीहरू