चुनाव न्यौपाने र अग्रवालकोः परीक्षा सुमार्गीको

चुनाव न्यौपाने र अग्रवालकोः परीक्षा सुमार्गीको

अहिले हेटौँडामा व्यापारीहरुको चुनावले माहोल तातेको छ । भोलि हुने मकवानपुर उद्योग वाणिज्य संघको चुनावमा दुई वटा प्यानल बनाएर नेतृत्व चयनको अभ्यास हुँदैछ । तर, दुई प्यानलबीच निर्वाचन भइरहँदा सामथ्र्य जाँच चाहिँ नवधनाढ्य सुमार्गी परिवारको हुँदैछ ।

हिजोबाट शुरु भएको मकवानपुर उद्योग वाणिज्य संघ हेटौँडाको ५४ औँ र ५५ औँ अधिवेशनसँगै नयाँ नेतृत्व चयनका लागि भोलि निर्वाचन हुन लागेको हो । निर्वाचनमा नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान केन्द्रीय सदस्य राजकुमार न्यौपाने र मकवानपुर उद्योग वाणिज्य संघ हेटौँडाका वरिष्ठ उपाध्यक्ष कृष्णकुमार गुप्ता अग्रवालको प्यानलबीच प्रतिस्पर्धा हुँदैछ । दुई प्यानलको प्रतिस्पर्धा भइरहँदा महासंघका केन्द्रीय सदस्य अरुणराज सुमार्गीसहित उनको परिवारको सामथ्र्य जाँच भइरहेको विश्लेषण हेटौँडामा गरिएको छ ।

मकवानपुर उद्योग वाणिज्य संघमा पछिल्लो एक दशक यता सुमार्गी परिवारले जे चाह्यो त्यही भइरहेको बताइन्छ । उदाहरणको लागि सुमार्गी परिवारकै चाहनामा तत्कालीन कार्य समिति सदस्य मात्रै रहेका अरुणराज सुमार्गीलाई एकैपटक अध्यक्षको उम्मेदवार बनाएर केशवदास श्रेष्ठलाई पराजित गराइएको थियो । त्यसपछि लगातार अध्यक्ष बनेकाहरु सुमार्गीको समर्थन बिना नेतृत्वमा आउन सम्भव नै भएन ।

सुमार्गीको आशीर्वादले अध्यक्ष बन्नेहरुमा तत्कालीन अध्यक्ष राजकुमार न्यौपाने समेत हुन् । तर, उनलाई हराउन सक्ने अवस्था नरहेपछि त्यतिखेर सुमार्गी परिवारले आफ्ना खानदानी उम्मेदवार ध्रुव पराजुलीलाई धोका दिएर न्यौपानेलाई नै जिताएको थियो । आफूलाई विशिष्ट सल्लाहकार बनाउने शर्तमा त्यतिखेर सुमार्गीले न्यौपानेलाई अध्यक्षमा समर्थन गरेको बताइन्छ ।

तर, एक महिना नबित्दै न्यौपाने र सुमार्गीबीच विवाद शुरु भएको छ । स्रोत भन्छ– ‘संघकी कर्मचारी इमु शर्माले सार्वजनिक कार्यक्रमको उपस्थिति लेख्ने क्रममा विशिष्ट सल्लाहकार भनेर अरुण सुमार्गीको पद उल्लेख गर्न खोजेपछि अध्यक्ष न्यौपानेले उहाँलाई मौखिक रुपमा विशिष्ट भनौँ, तर लेख्ने काम नगरौँ भनेलगत्तै न्यौपाने र सुमार्गीको शीतयुद्ध शुरु भएको हो ।’

स्रोतले पुष्टि गर्दै भनेको छ, ‘न्यौपानेको कार्यकालमा सुमार्गीले गलत मान्छेलाई बोकिएकोमा पछुतो मान्दै त्यसयता मकवानपुर उद्योग वाणिज्य संघमा एकलौटी अध्यक्ष बनाइरहनु भएको छ । सुमार्गी अध्यक्ष भएपछि उहाँकै समर्थनमा भुवनलाल श्रेष्ठ, राजकुमार न्यौपाने र कृष्ण कटुवाल अध्यक्ष भइसकेका छन् भने कृष्णकुमार अग्रवाल (गुप्ता) अहिले प्रस्तावित छन् ।’

रोचक कुरा चाँही सुमार्गीलाई अध्यक्ष बनाइएपछि गठन भएको सल्लाहकार समितिमा अहिलेका नेपाल विद्यार्थी संघका महामन्त्री प्रभात दाहाललाई राख्ने सहमति कार्यान्वयन नभएको झोँक त्यतिबेला मुक्का हानेर झारिएको थियो । काँग्रेस सभापति तथा बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको निवासको शौचालयमा दाहालले सुमार्गीलाई मुक्का हानेको विषयले त्यतिबेला निकै चर्चा पाएको थियो ।

को होला अबको नेतृत्वकर्ता ?

भोलिको निर्वाचनमा न्यौपाने पक्षधर प्यानल र गुप्ता पक्षधर प्यानलको तीब्र प्रतिस्पर्धा निश्चित छ । यतिखेर सुमार्गी परिवारसहित अधिकांश पूर्वअध्यक्षहरुको समर्थन गुप्तालाई छ । त्यसो त अहिले अरुण सुमार्गीकी पत्नी अंकिता सुमार्गीसमेत गुप्ता प्यानलमा एसोसिएट्सतर्फ सदस्यको उम्मेदवार बनेकी छन् । यो प्यानललाई काँग्रेसको समर्थन प्राप्त छ भने केन्द्रीय राजनीतिको गठबन्धनको प्यानलको रुपमा पनि ब्याख्या गरिएको छ ।

यता सुमार्गीको लगातारको हस्तक्षेपबिरुद्ध राजनीतिक शक्तिहरु एक हुन थालेका छन् । न्यौपानेलाई नेकपा एमाले समर्थित मान्ने गरेका छन् । उनलाई नेकपा एकीकृत समाजवादी, आधाआधी नेकपा माओवादी केन्द्र र आधाआधी काँग्रेसले समर्थन गरेको बताइन्छ । त्यसो त राप्रपाले पनि आधिकारिक रुपमै आफू निकट व्यवसायीलाई न्यौपानेलाई मत हाल्न उर्दी जारी गर्न लागेको स्रोत बताउँछ । ‘यी सबै कुराले सुमार्गीको शक्तिलाई साइजमा ल्याउन हेटौँडामा प्रयत्न भइरहेको देखिन्छ’, लामो समयदेखि मकवानपुर उद्योग वाणिज्य संघबारे जानकारी राख्दै आइरहेका एक जना स्थानीय पत्रकारले बताएका छन् ।

यसो हुँदा दुवै उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिने छ । तत्कालीन नेपाल उद्योग वणिज्य महासंघको निर्वाचनमा केन्द्रीय सदस्य उम्मेदवारको लागि मकवानपुरबाट प्रतिनिधि बन्न नदिएर सुमार्गी परिवारले न्यौपानेललाई अन्याय गरेकाले जिल्लामा अध्यक्षको प्रत्यासी बन्नुपरेको न्यौपानेको दाबी छ । त्यतिबेला मकवानपुरबाट प्रतिनिधि हुन नपाएपछि न्यौपाने रामेछापबाट प्रतिनिधि बनेर महासंघको उम्मेदवार बनेका थिए ।

यता अग्रवाल पनि आफू निरन्तर संघमा आबद्ध रही व्यवसायीको हितमा काम गरिरहेकाले अध्यक्षको प्रत्यासी बनेको बताउँछन् । व्यावसायिक हितबाहेक अन्य राजनीतिक कुराहरुमा आफ्नो धेरै ध्यान नरहेको उनको भनाइ छ । मधेसी र मारवाडी समुदायका व्यवसायीहरुमा लोकप्रिय रहेका गुप्ताको जीत निश्चित भइसकेको दाबी संघका पूर्वअध्यक्षहरुले गरेका छन् । त्यसमाथि नेपाली काँग्रेसका नेता तथा पूर्वमहासचिव भइसकेका अध्यक्षका अर्का प्रत्यासी महेन्द्र राउतले पनि अग्रवाललाई नै समर्थन गरिसकेपछि अग्रवालको पल्लाभारी भएको भन्नेहरु प्रशस्त छन् ।

तर, विश्लेषकहरु अध्यक्षमा सुमार्गीलाई देखाइदिने भन्दै न्यौपानेलाई जिताउने र बाँकी अन्य पदाधिकारीहरुमा काँग्रेसनिकट उम्मेदवारहरुको हालीमुहाली गर्ने सम्भावना पनि उत्तिकै रहेको बताउँछन् ।

कुल २ हजार ८ सय ९५ मतदाता रहेको मकवानपुर उद्योग वाणिज्य संघमा वस्तुगततर्फ ३२, एसोसिएटतर्फ १ सय १७, उद्योगतर्फ ८ सय ९० र वाणिज्यतर्फ १ हजार ८ सय ५६ जना मतदाता छन् ।

पश्चिम क्षेत्र समितिका सभापतिको आपत्ति

साधारणसभा भइरहँदा हिजो मकवानपुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र समितिका सभापति नारायण सुवेदी एकाएक बाहिरिएका छन् । अपमान गरिएकाले सुवेदी त्यहाँबाट हिँडेको बताइन्छ । पश्चिम क्षेत्र समितिलाई १० धुर अर्थात् अहिलेको चलनचल्तीमा कम्तीमा ३० लाख रुपैयाँ पर्ने जग्गा दिएका सुवेदीलाई सम्मान नगरेर रामचन्द्र बर्तौलालाई सम्मान गरेपछि उनी विक्षिप्त बनेको विश्लेषण गरिएको छ ।

बर्तौलाले पनि मकवानपुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र समितिको भवनका लागि जग्गादान गरेका छन् । तर, उक्त जग्गा कहाँनेर छ भन्ने कुरा अहिलेसम्म ठम्याउन सकिएको छैन । सभापति सुवेदीले दान गरेको १० धुर जग्गामा अहिले पश्चिम क्षेत्र समितिको अन्डरग्राउण्ड सभाहलसहितको भवन मन्त्री तथा मकवानपुरका माननीय बिरोध खतिवडाको सिफारिसमा सांसद विकास कोष तथा मनहरी गाउँपालिकाको संयुक्त लगानीमा ठडिएको छ ।

‘दिइएको जग्गामा बनेको भवनमा गएर कैयौँ पटक जिल्ला र केन्द्र नेतृत्वले बैठक गरेको छ, कार्यालय चलाएको छ, त्यो चाहिँ नदेख्ने’, सभापति सुवेदीले प्रश्न गरे, ‘कागजमा मात्र प्राप्त भएको जग्गावालालाई चाहिँ सम्मान गरिहाल्नुपर्ने ?’

टिप्पणीहरू