ढलेपछि ढकाल, सम्झनामै बेहाल

एमाले लुम्बिनीतिरका नेता–कार्यकर्ताले खाइलाग्दा नेता रामनाथ ढकालसम्बन्धी स्मृति ग्रन्थ’ त निकाले तर न मिति सही छ, न भाषासम्पादक । ग्रन्थका प्रमुख संरक्षक विष्णुप्रसाद पौडेल र प्रधानसम्पादक खिमलाल भट्टराईलाई कहाँ फुर्सद हुनु यस्ता झिनामसिना कुरा हेर्न ? बिचरा पाठक दिमाग चाटिएर रुनु न हाँस्नु भइदिन्छ । उनको जन्म धेरैले २०१९ भन्दा झपेन्द्र जिसी २०१८ लेख्छन् ।

निधन माधवकुमार नेपालले चैत २०, अन्यले २२ र डा. प्रेमराज ज्ञवालीले २४ लेख्दा पनि खिमलाललाई चित्तै बुझ्यो सायद उनी सांसद हुने लाइनमा थिए । विसं २०६४को पहिलो संविधानसभा निर्वाचनमा शंकर पोखरेल रूपन्देही–४बाट तथा प्रदीपकुमार ज्ञवाली र छविलाल विश्वकर्माले रुपन्देही–५ बाट विजयी भएको लेखेका छन् । बुटवलमा सम्पन्न आठौँ अधिवेशन राजन भट्टराईले विसं २०६४, प्रदीप ज्ञवाली, नेत्रप्रसाद पन्थीलगायतले २०६५ र सल्लाहकार भइसकेका देवेन्द्र घिमिरेले २०६८ भनेका छन् । अझ रमाइलो त राष्ट्रियसभाका तिनै पूर्वसांसद घिमिरेले ज्ञानेन्द्रले २०६१ मा शासनसत्ता हातमा लिएपछि बुटवलमा सम्पन्न एमालेको ऐतिहासिक जनप्रदर्शन ०७३ साल मंसिर ४ भनेका छन् । घिमिरे विसं २०५९को आठौँ बुटवल महाधिवेशन २०५७ मा भएको सम्म लेख्न सक्छन् । प्रदेशसभा सदस्य बलराम अधिकारीले ज्ञानेन्द्रको शाही कु २०६९ भनेपछि पाठक नबौलाए के गर्छ ?

अझै रमाइलो, झपेन्द्र जिसी रामनाथले २०५६ मा रूपन्देही–५बाट हारेका भए पनि उनले सानदार विजय हासिल गरे भनी लेख्न पुग्छन् । लीला गिरी त मिति नै उल्लेख नगरी बुटवल महाधिवेशनपछि पो संविधानसभा चुनाव भएको बताएर उल्टो कुरा गर्छन् । शंकर पोखरेल ०६४ सालमा रूपन्देही–४बाट र अन्य रूपन्देही–५बाट ढकाल विजयी भएको दुईथरी कुरा गर्छन् । ग्रन्थ पढुञ्जेल ढकालका दुई गुँड थिए भन्ने पनि बुझ्न सकिँदैन । प्रुफ रिडिङको कुरा गर्दा जस्तो लेख आयो त्यस्तै छाप्दा कुन हविगत भोग्नुपर्छ, त्यही भएको छ जस्तै ‘बिर्ता’ –जग्गा)‘वीरता’(बहादुरी) भएको छ ।

प्रमका प्रेस सूचक रामशरण बजगाईँले ‘चक्रपथ अनलाइन’मा गर्नुभएको रिपोर्टिङमा कसको भनाइ उतारेको बुझिन्न । कक्षा १० मा भर्ना हुन परेको सास्ती, कमला पराजुलीले आफ्ना सम्धी ढकाललाई औँठी लगाइदिन गरेको चलाकी, रवीन्द्रहरूले पुलिस हिरासतबाट ढकाललाई भगाएका कुरा भने रोचक छन् । ‘वजनदार लेखहरू’को संग्रह अर्थात् ग्रन्थमा थुपैैैैै्र सहयोगी भए पनि प्रकाशन कुन संस्थाले गरेको हो भन्ने खुल्दैन । ढकालजस्ता नेताको किताब कुनै संस्थाले प्रकाशन गरेको भए यस्तो बेवारिसे त बन्दैनथ्यो कि ?

टिप्पणीहरू