नयाँ शक्तिबाट कांग्रेसतिर,अनि फेरि मन्त्री बन्न माओवादीतिर

नयाँ शक्तिबाट कांग्रेसतिर,अनि फेरि मन्त्री बन्न माओवादीतिर

सत्ताको तर मार्न नेता,सांसदहरुले पार्टी छान्दै हिँड्ने कुरा नेपालमा नौलो होइन । तर,सांसद पद जोगाउन कृत्रिम पार्टी प्रवेश गरेको घटना भने दुर्लभै होला । त्यस्तो पात्र हुन् – बाग्मती प्रदेशका सांसद प्रेमबहादुर तामाङ । गत चुनावमा तत्कालीन नयाँ शक्ति पार्टीले देशभर खराब नतिजा निकाल्दा तामाङले भने रसुवाबाट जितेका थिए । नयाँ शक्तिले देशभरबाट एक लाख मत कटाउन नसकेका बेला सांसद जितेर चर्चा कमाएका उनै तामाङ अहिले आफैँ कुन पार्टीको हो भन्ने अन्यौलमा छन् ।

काँग्रेससँगको गठवन्धनले चुनाव जितेका सांसद तामाङ हाल अघोषित रुपमा काँग्रेस बनिसकेका छन् । सांसद पद जोगाउन घोषित रुपमा कांग्रेस नबनेका उनले आफ्ना सबै कार्यकर्ता कांग्रेसमा पठाइसकेका छन् । सबै कार्यकर्ता काँग्रेसमा पठाएर एक्लै जनता समाजवादी पार्टी (जसपा) मा रहेका सांसद तामाङ फेरि भित्रीरुपमा माओवादीमा प्रवेश गरेर बाग्मती प्रदेशको मन्त्री बन्ने चर्चाले स्थानीय राजनीति तातिएको छ ।माओवादीबाट मन्त्री बन्नका लागि तामाङले बागमती प्रदेश माओवादी संसदीय दलका नेता शालिकराम जमरकट्टेलसँग कुराकानी अघि बढाएको बताइएको छ । जमरकट्टेलसहितको टोलीले तामाङलाई खुमलटारमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटाउने र अन्तिम निर्णय गर्ने तयारी भैरहेको स्रोतको दाबी छ ।

शेरबहादुर देउवासहित आधा दर्जनबढी कांग्रेसका केन्द्रीय नेतालाई छक्काउँदै अन्तिम समयमा तामाङ पार्टी प्रवेश कार्यक्रममै नगई घरमै सुतेर बसेको त्यतिबेला चर्चा थियो ।

यता,माओवादी केन्द्र रसुवाका नेताहरुले भने तामाङको पार्टी प्रवेश र मन्त्रीबारे जानकारी नभएको बताएका छन् । जिल्लामा यसबारे कुनै छलफल नभएको भन्दै माओवादी केन्द्र रसुवाका संयोजक माधव लामिछाने समीरले आफूलाई केही थाहा नभएको बताए ।

माओवादीका अर्का एक जिल्ला नेताले भने तामाङको पार्टी प्रवेशप्रति आशंका व्यक्त गरेका छन् । जिल्लामा कुनै छलफल नै नगरी स्वार्थ समूहलाई बोकेर नेताहरुको दैलो चाहार्ने परिपाटी देखिएको भन्दै उनले असन्तुष्टि जनाए ।

काँग्रेसको योजनामा तामाङ माओवादी कोटामा मन्त्री बन्न लागेको माओवादी नेताहरुको आशंका छ । रसुवा कांग्रेसका नेता तथा सांसद मोहन आचार्य र उत्तरगया गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्सालको घरमा तामाङसहितको बैठक बसेर योजना बनाइएको र सोहीअनुसार पार्टी प्रवेशको हल्ला चलाइएको नेताहरुको दाबी छ ।

पूर्वमाओवादी समेत रहेका तामाङ माओवादीमा फर्किए स्वागत गरिने तर,खुला छलफलमार्फत खुल्लै रुपमा पार्टी प्रवेश गर्नुपर्ने माओवादी नेताहरुको भनाइ छ । उनीहरुले सांसद पद जोगाउन भित्रीरुपमा मात्रै पार्टी प्रवेश गर्ने कुरा स्वीकार्य नहुने बताएका छन् । ‘साँच्चै उहाँ पार्टीमा आउन खोज्नुभएको हो भने खुला रुपमै आउनुपर्छ । केन्द्रमा नेताहरुसँग मात्र हैन जिल्लामा पनि छलफल हुनुपर्छ ‘, माओवादीका एक जिल्ला नेताले भने ।

जानकार स्रोतका अनुसार तत्काल माओवादी प्रवेश गर्दा सांसद पद धरापमा पर्ने भएकाले जसपामै रहेर आन्तरिक रुपमा मात्रै माओवादीमा रहने गरी तामाङ र जमरकट्टेलहरुले छलफल गरेका छन् । सांसद तामाङ्गलाई मन्त्री बनाउन माओवादी तयार भए आगामी निर्वाचनमा खुलेरै माओवादीमा लाग्न तामाङ राजी भएको बताइएको छ । जिल्लाका माओवादी नेताहरुले भने उधारो सहमति गरेर अर्को पार्टीको सांसदलाई मन्त्री बनाए बिद्रोह गर्ने सुर कसेका छन् ।

माओवादी जनयुद्धबाट राजनीतिमा स्थापित भएका तामाङले २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा माओवादीबाट जितेका थिए । ०७० सालको निर्वाचनमा झिनो मतले एमाले उम्मेदवारसँग पराजित भएका तामाङ ०७४ को चुनावमा प्रदेशबाट जितेका हुन् ।

पछिल्लो समय तामाङ डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिमा लागेका थिए । बाबुरामलाई छाडेर अहिले उनको कांग्रेससँग निकटता बढेको धेरैले बताउने गरेका छन् । तर, प्राविधिक अप्ठेरोले गर्दा उनले औपचारिक रुपमा भने जसपा छोडेका छैनन् ।

गत वर्ष कांग्रेस र नयाँ शक्तिबीच पार्टी एकता गर्ने भनेर कालिकास्थानमा दुवै पार्टीले संयुक्त कार्यक्रम राखेका थिए । काङ्ग्रेस सभापति शेरबहादुर देउवासहित आधा दर्जनबढी कांग्रेसका केन्द्रीय नेतालाई छक्काउँदै अन्तिम समयमा तामाङ पार्टी प्रवेश कार्यक्रममै नगई घरमै सुतेर बसेको त्यतिबेला चर्चा थियो ।

टिप्पणीहरू