संस्कार कागज होइन,व्यवहारमा भेटिने कुरा हुन्…

संस्कार कागज होइन,व्यवहारमा भेटिने कुरा हुन्…

पूर्वराजपरिवारले गत साता आफ्नो स्वामित्वको राजधानीस्थित पाँच तारे सोल्टी होटलमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान समारोहका धेरै वटामध्ये एउटा तस्विर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

उक्त तस्विरमा पूर्वराजा ज्ञानेन्द्रसँग अनौपचारिक कुराकानी गर्ने क्रममा बुहारी तथा पूर्वयुवराज्ञी हिमानी शाहले देखाएको शाहवंशीय परम्परा र मान मर्यादाको धेरैले प्रशंसा गरेका छन् । पूर्वयुवराज तथा आफ्ना श्रीमान पारस शाहको हालत र सामाजिक चालचलन उल्लेख गर्न लायक नभएको अवस्थामा हिमानीको उक्त व्यवहार पूर्वराजपरिवारमा अनुकरणीय मानिएको छ ।

उक्त कार्यक्रम हिमानी कोषको संयोजनमा भएको हो । कोषकी अध्यक्ष हिमानी शाहको अध्यक्षता र पूर्वराजा ज्ञानेन्द्र शाहको प्रमुख आतिथ्यमा भएको अघिल्लो साताको कार्यक्रममा यो फोटो खिचिएको हो । दरबार निकट एकजना पूर्वप्रशासक भन्छन्, ‘संस्कार कागजमा लेखेर मात्र हुँदैन । व्यक्तिले व्यवहारमा उतार्नुपर्छ । हिमानी शाहको उक्त फोटोमा कागजी होइन व्यक्तिको व्यवहार खोज्नुपर्छ,अर्थ त्यहिँ भेटिन्छ ।”

विशेषगरी मुलुकमा बहुदलीय व्यवस्थाको पुनर्स्थापना र पछिल्लो समय गणतन्त्रिक व्यवस्था लागु भएपछि राजनीतिक दलका नेता तथा अन्य क्षेत्रमा समेत आदर र सम्मान भन्ने विषय कुन चराको नाम हुन थालेको छ । राज्यको औपचारिक समारोहमा राजकीय ओहोदामा बसेकाहरुले नै उपरखुट्टी लगाएको दृश्य प्रायः देखिन्छ । माथिल्लो ओहोदाका पदाधिकारीसँगको कतिपय भेटमा सामान्य शिष्टाचारको पालनासमेत भएको पाइन्न ।

टिप्पणीहरू