बारले बोलायो सल्लाहकारको बैठक,प्रधानन्यायाधीशको राजीनामा मागिँदै

बारले बोलायो सल्लाहकारको बैठक,प्रधानन्यायाधीशको राजीनामा मागिँदै

नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाको औपचारिक राजीनामा माग्ने भएको छ । आज बसेको बार पदाधिकारीको बैठकले प्रक्रिया पूरा गरेर राजीनामा माग्ने निर्णय गरेको बार स्रोतले जानकारी दिएको छ ।

त्यसका लागि बारले भोलि सल्लाहकारहरुको बैठक बोलाएको छ । स्रोतका अनुसार प्रधानन्यायाधीश राणाबारे उठेका प्रश्न र समग्र न्यायालय सुधारका लागि सल्लाहकारहरुको राय सुझाव लिने र भोलि नै प्रधानन्यायाधीश राणाको औपचारिक राजीनामा माग्ने सम्भावना छ ।

बारका सबै पूर्वअध्यक्ष,उपाध्यक्ष र सचिव सल्लाहकार हुन्छन् । वरिष्ठ अधिवक्ता शम्भु थापा,हरिहर दाहाल,प्रेमबहादुर खड्का,सुनिल पोख्रेललगायत सल्लाहकार छन् । उनीहरुसहितको बैठक बसेर निर्णय लिने तयारी भएको हो ।

यता,सर्वोच्च अदालतका न्यायाधीशहरुले पनि प्रधानन्यायाधीश राणालाई भोलि बिहान सामूहिक रुपमा भेटेर कडिकडाउ कुरा राख्ने भएका छन् । आज अपरान्ह बारसहित बस्ने गरी बोलाइएको फूलकोर्ट बहिष्कार गरेर छुट्टै छलफल गरेका न्यायाधीशहरुले राणालाई भोलि ११ बजे भेट्ने निर्णय गरेका हुन् ।

आजको इजलास नै प्रभावित हुनेगरी छलफल गरेका न्यायाधीशहरुले प्रधानन्यायाधीश राणालाई भेटेर मार्गप्रशस्त गर्न आग्रह गर्ने सम्भावना छ । बार स्रोतले पनि न्यायाधीशहरुले राजीनामा माग्न सक्ने बताएको छ । ‘न्यायाधीशहरुले सीधै राजीनामा देऊ भन्न त मिल्दैन,सम्भवत: मार्ग प्रशस्त गर्न सुझाव दिनुहुन्छ होला’,उक्त स्रोतले भन्यो ।

सबैतिरबाट चेपुवामा पर्दै जानुभएका प्रधानन्यायाधीश राणाले भोलि बारको बैठक बस्नुअघि नै राजीनामा दिनसक्ने चर्चा पनि छ । राणाले राजीनामा दिए वरियताका आधारमा वरिष्ठतम् न्यायाधीश दीपक कार्की कायममुकायम प्रधानन्यायाधीश हुने र उहाँले कम्तिमा एक वर्ष सर्वोच्चको नेतृत्व गर्नुहुनेछ ।

टिप्पणीहरू