दुर्गा प्रसाईं माओवादीको कुन कमिटीमा रहेछन् ?

दुर्गा प्रसाईं माओवादीको कुन कमिटीमा रहेछन् ?

स्थानीय तहको निर्वाचन आउन केही महिना बाँकी छ । तर,पार्टी प्रवेशको चर्चा चलाएर जनमत आफ्नो पक्षमा देखाउन दलहरुको होडबाजी भने अहिलेदेखि नै शुरु भैसकेको छ ।

गत चुनावमा पाएको दुई तिहाइ जनमत सम्हाल्न नसक्दा वीचमै सरकार गुमाएर प्रतिपक्षमा पुगेको एमाले दैनिकजस्तै अन्य पार्टीबाट नेता-कार्यकर्तालाई प्रवेश गराइरहेको छ । सत्तारुढ कांग्रेस, माओवादीलगायतका दलहरुमा पनि पार्टी प्रवेश गर्नेको उस्तै लर्को देखिने गरेको छ । हुन त हल्लाखल्ला गरेरै आफ्नो पार्टीको पक्षमा माहोल बनाउनु संसदीय राजनीतिको विशेषता नै मानिन्छ । कतिपय अवस्थामा त प्रमुख पार्टीहरुले आफ्नै कार्यकर्तालाई पार्टी प्रवेश गराएको प्रचारप्रसार समेत गर्ने गरेको पाइन्छ ।

यसैबीच एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापाका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाई एमाले प्रवेश गरेका छन् । झापाको विर्तामोडमा हिजो आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीबाट टिका र खादा लगाएर प्रसाईलाई एमालेमा भित्र्याइएको हो । एमाले झापाका अध्यक्ष चिन्तन पाठकका अनुसार करिव तीन हजार माओवादीसहित विभिन्न पार्टीका कार्यकर्ता एमाले प्रवेश गरेका हुन् ।

“रामबहादुर थापा बादल गृहमन्त्री हुँदा उनका राजनीतिक सल्लाहकार रहेका माओवादी नेता सूर्य सुवेदी पथिकले प्रसाई कहिले पनि माओवादीमा नरहेको भन्दै अनावश्यक चर्चा गर्नु आवश्यक नभएको बताएका छन् ।”

हिजो तामझामका साथ एमाले प्रवेश गरेका प्रसाई गत असोज १५ देखि १७ सम्म चलेको एमालेको प्रथम विधान अधिवेशनमै प्रतिनिधि भएर सहभागी भएका थिए । त्यसको २४ दिनपछि प्रसाईलाई ओलीसहितका एमाले नेताहरुले पार्टी प्रवेश गराएका हुन् । प्रसाईले आफूसँगै तीन हजार बढी माओवादी केन्द्रका कार्यकर्ता एमाले प्रवेश गराएको दाबीसमेत गरिएको छ ।

यता, माओवादी नेताहरुले भने प्रसाई कहिले पनि माओवादी नभएको भन्दै झूठो प्रचार गरिएको बताएका छन् । एमाले नेता रामबहादुर थापा बादल गृहमन्त्री हुँदा उनका राजनीतिक सल्लाहकार रहेका माओवादी नेता सूर्य सुवेदी पथिकले प्रसाई कहिले पनि माओवादीमा नरहेको भन्दै अनावश्यक चर्चा गर्नु आवश्यक नभएको बताएका छन् । प्रसाई माओवादी छोडेर एमाले प्रवेश गरेको समाचार बाहिरिएलगत्तै सामाजिक सञ्जालमार्फत उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘दुर्गा प्रसाइ -रामेश्वर खनालहरु कुनै बैचारिक आस्थाका आधारमा माओवादी पार्टीमा जोडिएका थिएनन् र उनीहरुको बहिर्गमनमा शोकधुन र सत्तोसराप दुबैको आवश्यकता छैन । बरु गम्भीर आत्मसमीक्षा गर्न जरुरी छ’, उनले भनेका छन्, ‘र पुरै जोड दिएर भन्न र गर्नुपर्छ कि आगामी पार्टी पुनर्निर्माण र पुनर्गठन अभियानमा विजातीय वर्ग र व्यक्तिलाई होइन आफ्नै वर्गमा भर पर्ने र उनीहरुलाई नै पार्टीमा ससम्मान फिर्ती गरिनेछ ।’

त्यसैगरी माओवादीका अर्का नेता शालिकराम जमरकट्टेलले दुर्गा प्रसाई कहिलेबाट माओवादी पार्टीको सदस्य भएको रहेछन् भनेर प्रश्न सोधेका छन् । ‘झापाबाट नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र ) छोडेर एमाले प्रवेश गरे भनिएका दुर्गा प्रसाई कहिलेबाट माओवादी पार्टीको सदस्य भएका रहेछन् ? उनी कुन कमिटीमा रहेछन् ? मैले त पार्टीको कुनै कमिटीमा आजसम्म उनलाई कहि देखेको छैन’, उनले भनेका छन् ।

प्रसाई एमाले र माओवादी केन्द्रको एकताका बेला ओली र प्रचण्डलाई आफ्नै घरमा मार्सी चामलको भात खुवाएर चर्चामा आएका थिए । झापाको बिएन्डसी मेडिकल कलेज सञ्चालक रहेका उनी विवादास्पद छविका मेडिकल व्यवसायीका रुपमा चिनिन्छन् । प्रसाईले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीमाथि घुस मागेको आरोप लगाएपछि विवादमा तानिएका थिए। गिरीले उनीविरुद्ध अदालतमा रिट हालेपछि केही समय फरारसमेत रहे ।

राष्ट्रिय चिकित्सा शिक्षा आयोगले बीएण्डसीलाई सम्बन्धन दिन अस्वीकार गरेपछि तत्कालीन प्रधानमन्त्री ओलीलाई गुहार्दै प्रसाई सिंहदरबार र बालुवाटार चाहार्ने गरेको आरोप लागेको थियो । त्यतिबेलैदेखि ओलीसंग विश्वासिलो सम्बन्ध बनाएका उनी अन्तत: औपचारिक रुपमै एमालेमा छिरेका हुन् ।

टिप्पणीहरू