सर्वोच्चमा आकस्मिक अनेक सरगर्मी

सर्वोच्चमा आकस्मिक अनेक सरगर्मी

सर्वोच्च अदालतमा न्यायाधीशहरुले नै इजलास बहिष्कार गरेपछि आज दिउँसो १ बजेका लागि डाकिएको फुल कोर्टको बैठक प्रभावित भएको छ । हिजो नेपाल बारका प्रतिनिधिसँगको छलफलपछि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले आज १ बजे फुल कोर्ट डाक्नुभएको थियो ।

तर आज बारको बैठक सकिएको केही समयपछि नै सर्वोच्चका १४ जना न्यायाधीशले इजलासमात्र बहिष्कार गर्नुभएको छैन, आजका लागि डाकिएको फुलकोर्ट बहिष्कार गर्ने निर्णयमा पुगेको बताइन्छ । सोही कारण आजका लागि बोलाइएको फुल कोर्ट बैठक प्रभावित भएको हो ।

अहिले सर्वोच्चमा प्रधानन्यायाधीशबाहेकका अरु १३ जना न्यायाधीश संयुक्त बैठकमा जुट्नुभएको छ । आजको बैठकमा न्यायाधीश नहकुल सुवेदी अस्वस्थताको कारण देखाउँदै अनुपस्थित हुनुभएको छ ।

यता बिहान ११ बजेदेखि जारी कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनका पदाधिकारीहरु पनि बैठकमा जुटेका छन् । बारका उपाध्यक्ष रक्षा बस्यालका अनुसार, सर्वोच्चका न्यायाधीशहरू नै सहभागी नहुने भएपछि आजको फुल कोर्ट बस्ने सम्भावना करिब टरेको छ ।

हिजो र आज सर्वोच्चका न्यायाधीशहरूले नै इजलास बहिष्कार गर्नेदेखि फुलकोर्ट समेत बहिष्कार गर्ने निर्णय गरेपछि त्यस सम्बन्धमा धारणा बनाउन बारको बैठक बसिरहेको छ ।

सर्वोच्च स्रोतको अनुसार इजलास बहिष्कारको प्रारम्भ गर्ने न्यायाधीश हालका प्रधानन्यायाधीश हुनुहुन्छ । जतिखेर गोपाल पराजुली प्रधानन्यायाधीश हुनुहुन्थ्यो त्यतिखेर चोलेन्द्र सर्वोच्चका न्यायाधीश हुनुहुन्थ्यो ।

उनै पराजुलीको उमेरसम्बन्धी वैधानिकतामाथि प्रश्न उठाउँदै सर्वोच्चका आठ जना न्यायाधीशले इजलास बहिष्कार गरेका थिए । त्यसको नेतृत्व उनै राणाले गरेको सन्दर्भलाई अहिले हेरिएको छ ।

तीन वर्ष आठ महिनाअघि २०७४ फागुन ३० मा राणाले शुरु गरेको इजलास बहिष्कारको नयाँ अध्याय अब आफ्नैविरुद्ध प्रयोग हुन लागेको रुपमा चर्चा गर्न थालिएको छ ।

टिप्पणीहरू