मुस्ताङमा हिउँ पर्यो,जाडो पनि बढ्यो

मुस्ताङमा हिउँ पर्यो,जाडो पनि बढ्यो

-अमृत बास्कुने

हिमाल पारीको जिल्लाको रुपमा परिचित मुस्ताङमा हिउँ पर्न थालेको छ । मुस्ताङको पवित्र तीर्थस्थल मुक्तिनाथ मन्दिर क्षेत्रमा हिमपात भएको हो । मुक्तिनाथ मन्दिरभन्दा माथिको पहाडमा हिजो साँझ हिउँ परेको हो ।

स्थानीय होटल अन्नपूर्ण इनका सञ्चालक अमृत सुवेदीका अनुसार मुक्तिनाथ मन्दिरभन्दा माथिल्लो भेकमा हिजो बेलुकीदेखि हिउँ परेको छ । मुक्तिनाथ दर्शनकालागि आएका पर्यटकहरु हिउँ परेको देखेपछि उत्साहित भएको सुवेदीले जानकारी दिएका छन् ।

यो वर्ष गत साता पानी पर्ने क्रममा सामान्य हिमपात भए पनि हिजो बाक्लो हिउँ परेको हो । मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले आइतबार बेलुकीदेखि हिउँ परेकाले चिसो केही बढेको बताउनुभयो । बस्तीसम्म आएको छैन तर मुक्तिनाथ मन्दिरभन्दा माथिल्लो क्षेत्र र अन्य उच्च पहाडमा थप हिउँ परेको छ । गत हप्ता मुलुकभर वर्षा हुँदा मुस्ताङको उच्च पहाडमा हिउँ परेको थियो भने आइतबार हिउँ थपिएको प्रमुख जिल्ला अधिकारी शर्माले बताउनुभयो ।

सीमा प्रहरी चौकी लोमान्थाङका सई डोलराज भण्डारीले पनि कोरला नाका क्षेत्र र माथिल्ला डाँडाहरुमा बेलुकीदेखि हिउँ परेको बताउनुभयो । उहाँका अनुसार हिउँ बस्तीसम्म आएको छैन तर डाँडामा पर्दा पनि चिसो भने बढेको छ ।

टिप्पणीहरू