रेल आउने भो

अब भारतको रक्सौलदेखि नेपालको काठमाडौंसम्मै रेल आउने भएपछि सबै दंग छन् । काठमाडौंवासीले रेल भनेको देखेकै उही हिन्दी सिनेमामा हो । केही वर्ष अघिसम्म भृकुटीमण्डपको प्रदर्शनीमा पनि बाल रेल कुद्ने गथ्र्यो । अहिले त्यो बन्द भइसक्यो । यस्तो बेला रक्सौलदेखि सिधा आफ्नो आँगनसम्मै रेल आइपुग्ने भएपछि काठमाडौंवासी दंग हुनु स्वाभाविकै भयो । प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणबाट प्राप्त यो एउटा ठूलो उपलब्धि हो । 

रेल आउनु त राम्रै कुरा हो । तर एउटा कुरामा भने डर लागिरहेको छ । अहिले आउन लागेको यो रेललाई हाम्रो बस चलाउने यातायात व्यवसायीहरूको सिन्डिकेटले पो विरोध गर्ने हो कि ? प्रधानमन्त्री केपी ओलीले भारतीय प्रधानमन्त्रीसँग कुरा गर्नुपहिले सिन्डिकेट अध्यक्षसँग कुरा गर्नुभएको पो हो कि होइन ? हाम्रो स्वीकृति नलिई ल्याएको रेल वीरगञ्ज–काठमाडौं रुटमा चलाउन दिँदैनौँ भनेर आन्दोलन गरे भने त आपत । त्यस्तो आन्दोलन हुन नदिन वार्ता गर्नैपर्छ । 

अनि यो रक्सौलबाट आउने रेल काठमाडौंमा रोकिँदा उही ललितपुरको खोकनामै अन्तिम विन्दू बन्ने होला नि । अहिले नै आठ वटा परियोजना एकैठाउँमा ल्याउने भएकाले आधाभन्दा बढी खोकना सिद्धिन लाग्यो भनेर गुनासो आइरहेको छ । रेलमार्ग पनि यहीं आएर टुंगियो भने पूरै खोकना सकिन्छ होला । हामीलाई चाहिएको विकास हो । खोकनाको के काम ? होइन र अञ्जान शाक्यज्यू ? 

टिप्पणीहरू