​ढुकुटी भरी

सरकारले भर्खरै जारी गरेको श्वेतपत्रले कांग्रेसलाई पर्नु पीर परेको छ । अहिले कांग्रेसका केन्द्रीय सभापतिदेखि वडाका सभापतिसमेत यही श्वेतपत्रको विरोधमा छन् । श्वेतपत्रमा भनिएको छ – ढुकुटी त खाली छ । तर, कांग्रेस नेताहरूको दाबी छ, ढुकुटी खाली छैन, भरिएकै छ । सरकार झुठ बोलिरहेको छ । 

अस्ति एउटा पार्टीको कार्यक्रम थियो । राजनीतिक होइन । भोज खाने पार्टी । पार्टीमा कांग्रेस पार्टीका सभापति शेरबहादुर देउवाको उपस्थिति थियो । हातमा गिलास लिएर त्यहाँ पनि उहाँ श्वेतपत्रकै कुरा गरिरहनुभएको थियो– यो त श्वेतपत्र होइन रेडपत्र हो । ढुकुटी पूरा खाली छ रे ! कसले भन्यो खाली भनेर ? यस्तो झुट बोल्नुहुन्छ ?

‘ढुकुटी खाली छैन त सभापतिज्यू ?’ एक निम्तालुले प्रश्न राखे ।

‘ए बाबा…कसले खाली भन्यो र भन्या ? कहाँ खाली छ ढुकुटी ? पहिले राम्ररी ढुकुटी हेर्नु त प¥यो नि । हेर्दै नहेरी त्यसै खाली भन्ने ?’ उहाँको गाला रातो हुँदै आउन थाल्यो ।

‘हेर्दै नहेरी त भनेको होइन होला सभापतिज्यू…’ अहिले प्रश्न राख्ने शायद एमाले समर्थक होला । 

‘खै कहाँ हे¥यो ? मेरो घरमा आएर त हेरेको छैन । मेरो घरमा आएर हेर्नु न, ढुकुटी पूरै भरिएको छ । खाली कहाँ छ ? जसको ढुकुटी खाली छ त्यसको मात्र हेरेर त ढुकुटी खाली भन्नुभएन नि ! जसको भरी छ त्यसको पनि त हेर्नुप¥यो नि बाबा ! मेरो घरको ढुकुटी हेर्नोस्, अनि भन्नोस् न खाली छ कि भरिभराउ छ । ढुकुटी खाली छ भनेर त्यसै आरोप लगाउने ? हामी यो कुरालाई छोड्नेवाला छैनौँ ।’ अहिले भने सभापतिज्यूको आँखा पनि रातो रातो हुन थाल्यो ।  

टिप्पणीहरू