​रातारात एअरपोर्टमा रमिता

स्थायी सरकारको रूपमा रहेका कर्मचारीलाई मन्त्रीले पेलेको चर्चा त चलेकै छन् । यो प्रसंग भने कर्मचारीले चर्चित मन्त्री लालबाबु पण्डितलाई हेर्दाहेर्दै कसरी धुलोमय बनाइदिए भन्ने हो । अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयबाट एकैचोटी ३२ जना अधिकृतको सरुवा भएको छ । त्यो पनि सामान्य प्रशासन मन्त्रीका रूपमा लालबाबुले कुर्सी सम्हालेकै दिन ।

लालबाबुले फागुन २ गते शपथ लिएका थिए । ३ गते शनिबार, सार्वजनिक बिदा । मन्त्री त बिदा भनेर मन्त्रालय गएनन् तर खुराफाती कर्मचारीलाई के बिदा, के दिन, के रात ? शनिबार पनि कर्मचारी प्रशासनका नवराज जैशी, कुलप्रसाद भट्टराईहरू मन्त्रालय गई सरुवाको गृहकार्य गरे । र, रातिसम्म बसी अध्यागमन कार्यालय विमानस्थलमा कार्यरत ३२ जना अधिकृतको सरुवासम्बन्धी निर्णय लेखे । तर सरुवाको निर्णय भने फागुनको अन्तिम साता गरिएको व्यहोरा राखियो । भोलिपल्ट आइतबार लालबाबुको पहिलो दिन थियो मन्त्रीका रूपमा । अपराह्नतिर खुरुखुरु ३२ भाइका नाममा पत्र काटियो । बाहिर लालबाबुले आउनासाथ अध्यागमनमा हाने भन्ने हल्ला चल्यो । तर, यो सरुवाका बारेमा उनी जानकार थिएनन् । 

खासमा यो सरुवा वर्षौंदेखि अध्यागमन एयरपोर्टमै बसी सेटिङमा मानिस उडाउने ‘डन’ कर्मचारीको पक्षमा गरिएको रहेछ । अतिरिक्त कमाइ गर्न माहिर अध्यागमन अधिकृतको भने उक्त लटमा सरुवा भएको छैन । जागिर अवधि एक हप्तादेखि ६ महिना बाँकी भएका, अध्यागमन एयरपोर्टमा सरुवा भएको ३ देखि ७ महिना मात्र भएकाहरू धेरै परेका छन् । तर ३ देखि ६ वर्षसम्म त्यहीँ बसेर मिलेमतोमा हुने नहुने सबै काम गरी अकुत कमाउन सफल अधिकृतहरू लोकराज बोहोरा, उत्तम शर्मा, प्रकाश खनाल, जगत बस्नेत, जंगबहादुर राई, प्रदीप ढकाल, सुरेश पन्थी, इन्द्र चापागाईंहरूको भने सरुवा भएको छैन ।

जम्मा १ सय २९ कर्मचारीको दरबन्दीमा १ सय २ जना मात्र कार्यरत रहेका बेला एकैचोटी ३२ जनाको सरुवा भएपछि कार्यालय अस्तव्यस्त हुने नै भयो । अर्कातर्फ आफूमाथि सोझिएको तीर डनहरू अन्तै प्रहार गर्न सफल भए । अवकाश हुन एक हप्ता मात्र बाँकी रहेका गणेश बस्नेतलाई स्थानीय तहमा पठाइयो । भदौमा अवकाश हुने विनोद अधिकारीलाई पनि यसैगरी खटाइयो । ३२ भाइमध्ये एक जनालाई सामान्यले नागार्जुन नगरपालिकामा पठायो । सरुवा भएका कर्मचारी त्यहाँ जाँदा हाजिर गराइएन मात्रै होइन, यहाँ कर्मचारी आवश्यक छैन भन्ने पत्र दिएर फिर्ता पठाइयो ।

टिप्पणीहरू