बेल्जियम लैजाने भन्दै बैंकक पुर्याएर नेपाली महिलाको यौन शोषण

बेल्जियम लैजाने भन्दै बैंकक पुर्याएर नेपाली महिलाको यौन शोषण

एक जना नेपाली महिलालाई बेल्जियममा काममा लगाइदिने भन्दै थाइल्याण्डको बैंकक पुर्याएर चरम यौन शोषण गरिएको छ । त्यसरी शोषण गर्ने नेपाली पुरुषले आफ्ना भारतीय साथीलाई पनि यौन शोषण गर्न लगाएर महिलालाई मलेसिया पुर्याएको रहस्य भर्खरै खुलेको छ ।

बागलुङको गल्कोट नगरपालिका–४ घर भएका ४४ वर्षीय राजेन्द्र खड्काले नेपाली महिलालाई अढाइ वर्षअघि बेल्जियम पुर्याउने प्रलोभनमा पारेका थिए । उनले मासिक डेढ लाख तलब हुने प्रलोभनमा ८ लाख ५४ हजार रुपैयाँ समेत महिलाबाट हात पारिसकेका थिए ।

त्यसपछि सन् २०१९ मे २२ मा भैरहवाबाट भारतको गोरखपुर, कलकत्ता हुँदै महिलालाई थाइल्याण्ड र कम्बोडिया पुर्याइयो । त्यसपछि केही समय थाइल्याण्डमा खड्काको कोठामा खड्का र अर्का भारतीय अभियुक्त परबिन्दर सिंह समेतले महिलाको यौनशोषण गरेका थिए ।

त्यतिले नपुगेर महिलालाई धम्की दिएर भारतीय नागरिकले मलेसिया पुर्याई अलपत्र पारे । मलेसियाबाट आफन्तको सहयोगमा डेढ वर्षअघि नेपाल फर्कन सफल महिलाले प्रहरीमा जाहेरी दिएपछि खड्काको कर्तुत बाहिरिएको हो ।

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी टोलीले केही दिन पहिले राजेन्द्रलाई सिनामंगलमा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारेको हो । त्यसपछि उनलाई जिल्ला अदालत काठमाडौंबाट चार दिन म्याद थपको अनुमति लिई मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अन्तर्गत आवश्यक अनुसन्धान गरिरहेको ब्युरोले जनाएको छ ।

टिप्पणीहरू