प्रदेशसभा स्थगित,एमालेले बाटाको म्याद माग्यो

प्रदेशसभा स्थगित,एमालेले बाटाको म्याद माग्यो

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेशसभाको बैठक एक साताका लागि स्थगित भएको छ । बैठक सार्न सत्तारुढ नेकपा एमाले र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सभामुखलाई लिखित आग्रह गरेपछि आज मध्यान्ह १२ बजेका लागि बोलाइएको बैठक कात्तिक १५ गतेसम्मका लागि स्थगित भएको हो ।

एमाले विभाजनपछि अल्पमतमा पर्नुभएका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिने कार्यसूची थियो । तर,यसअघि मुख्यमन्त्रीले विश्वासको मत लिन आनाकानी गरेको भनी आलोचना गर्दै आएको प्रमुख प्रतिपक्षी दलले नै बैठक स्थगित गर्न माग गरेपछि आचार्यको सत्ता एकसाता लम्बिएको छ ।

प्रदेशसभाका प्रमुख दुई दलले स्थगित गर्न निवेदन दिएपछि प्रदेशसभा सचिवालयले एक साताका लागि बैठक सारेको हो । सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले प्रदेशसभाको नवौँ तथा हिउँदे अधिवेशनको चौथो बैठक कात्तिक १५ गते सोमबार दिउँसो साढे १२ बजे बस्ने बताएका छन् ।

कांग्रेसको निवेदनमा बैठक सार्न अनुरोध गरिए पनि अर्को बैठकको मिति प्रस्ताव गरिएको थिएन । एमालेले भने अदालतले जस्तै बाटोको म्यादसमेत राखेर अर्को बैठकको मिति कात्तिक १५ गते तोक्न आग्रह गरेको थियो ।

‘नेकपा एमालेको दशौँ महाधिवेशनअन्तर्गत मिति २०७८/०७/०९ गते पालिका अधिवेशन, मिति २०७८/०७/१० र ११ गते स्थायी कमिटी बैठक र मिति २०७८/०७/१२ र १३ गते केन्द्रीय कमिटीको बैठक भएको हुँदा २०७८/०७/१४ गते बाटोको म्याद राखी २०७८/०७/१५ गते प्रदेशसभाको बैठक सन्चालन गर्न उपयुक्त हुने व्यहोरा अनुरोध छ’, प्रमुख सचेतक बुधिकुमार राजभण्डारीद्वारा प्रदेशसभा सचिवालयलाई पठाइएको पत्रमा भनिएको छ ।

आजको बैठक सार्न आन्तरिक प्रयास गरिरहेको एमालेले कांग्रेसलाई देखाएर आफू अनुकूल निर्णय गराएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलको तर्फबाट आजको बैठक स्थगन गर्नको लागि माननीय सभामुखज्यू समक्ष पत्र पेश भएको जानकारी हुन आउँदा ……’ एमालेको पत्रमा उल्लेख छ।

शुरुमा कांग्रेसले पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको प्रदेश भ्रमण रहेकाले आफ्ना सांसदहरु आउन नसक्ने भन्दै बैठक स्थगित गर्न माग गरेको थियो । लगत्तै एमालेले पनि काँग्रेसको पत्रलाई देखाएर बैठक स्थगित गर्न सभामुखलाई निवेदन दिएको हो ।

टिप्पणीहरू