माओवादीको महत्वाकांक्षी योजना : १३ लाख मत, ३१ लाख सदस्य

माओवादीको महत्वाकांक्षी योजना : १३ लाख मत, ३१ लाख सदस्य

सदस्यता नवीकरणमा ढिलाई हुँदा नेकपा (माओवादी केन्द्र) को राष्ट्रिय सम्मेलनको मिति प्रभावित हुने देखिएको छ । माओवादी केन्द्रले आगामी पुस ११ देखि १३ गतेसम्म पार्टीको राष्ट्रिय सम्मेलन गर्ने तयारी गरेको छ । तर, दुई पटकसम्म सम्मेलनको कार्यतालिका हेरफेर गरेको माओवादीले अहिलेसम्म १५ प्रतिशत पनि सदस्यता नवीकरण गर्न सकेको छैन । जसका कारण राष्ट्रिय सम्मेलन प्रभावित हुने अवस्था देखिएको हो ।

पछिल्लो कार्यतालिकाअनुसार सदस्यता नवीकरणको म्याद कात्तिक २५ गतेसम्म पुर्याइएको छ । यसअघि असोज मसान्तभित्र नवीकरण गरिसक्ने भनिएकोमा दशैँ, तिहारलगायतका चाडपर्व परेकाले कात्तिक २५ गतेसम्म म्याद थप गरिएको बताइएको थियो । अहिलेकै हिसाबले कात्तिक २५ गतेसम्ममा पनि सदस्यता नवीकरण भइसक्ने अवस्था भने देखिँदैन ।

महत्वाकांक्षी सांगठनिक योजना अगाडि सारेको माओवादीले साढे सात लाख संगठित र ३१ लाख साधारण सदस्यता वितरणको तयारी गरेको छ । तर, आजसम्म करिब साढे दुई लाख संगठित सदस्य मात्रै केन्द्रीय सफ्टवेयरमा इन्ट्री भएको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकाल ‘प्रशान्त’ले जानकारी दिनुभयो । वडा–वडाबाट सदस्यता भरेर जिल्लामा आइसकेको तर, सफ्टवेयरमा इन्ट्री गर्ने काम मात्र बाँकी रहेकाले अहिले संख्या कम देखिए पनि पूर्वनिर्धारित मितिमै सदस्यता नवीकरण भइसक्ने उहाँको दाबी छ ।

तर, सदस्यता नवीकरणमा ढिलाई भएकै कारण तल्ला कमिटीका अधिवेशनहरुको मिति सरिसकेको छ । यसअघि कात्तिक ६ मा टोल सम्मेलन, १३ मा वडा सम्मेलन र मंसिर ४ मा पालिका सम्मेलन गर्ने कार्यतालिका थियो । उक्त कार्यतालिका संशोधन गरि टोल भेला कात्तिक २७ गते, वडा सम्मेलन मङ्सिर ४ गते र पालिका सम्मेलन मङ्सिर ११ गते पुर्याइएको छ । मंसिर १५ मा गर्ने भनिएको प्रदेश सम्मेलन १० दिनपछि सारेर २५ गते गर्नेगरि कार्यतालिका हेरफेर गरिएको छ ।

विशेष र समन्वय प्रदेश गठनमा भएको ढिलाई र प्रदेश २ मा केही समस्या आएकाले सदस्यता नवीकरणमा ढिलाई भएको ढकालको भनाइ छ । प्रदेश २ को समस्या समाधान भैसकेको र विशेष र समन्वय कमिटीले पनि फारम भर्न थालेकाले तोकिएको समयमै सदस्यता नवीकरण भैसक्ने पनि उनको विश्वास छ ।

एमालेसँगको पार्टी विभाजनपछि महात्वाकांक्षी सांगठनिक योजना अघि सारे पनि माओवादीको संगठन भने लथालिङ्ग छ । माओवादीसँग संगठित सदस्यहरुको यकिन तथ्यांकसमेत नरहेको बताइन्छ । एमालेसँग एकता हुँदा तीन लाख सदस्य भनिए पनि त्यसको व्यवस्थित तथ्याङ्क भने माओवादीले दिएको थिएन ।

यो पृष्ठभूमिमा साढे सात लाख संगठित सदस्य बनाउने माओवादीको योजना छ । तर, त्यहिअनुसार काम नहुँदा सदस्यता नवीकरणको मिति नजिकिँदै जाँदा हालसम्म साढे दुई लाख सदस्यको नाम मात्रै केन्द्रीय सफ्टवेयरमा मात्र इन्ट्री भएका छन् । कार्यालय सचिव ढकालले भने तोकिएकै समयमा सदस्यता नवीकरण भैसक्ने दाबी गरेका छन् ।

’पूर्वनिर्धारित योजनाअनुसार नै काम भइहेको छ । कतिपय ठाउँमा नेटको समस्या भएकाले सदरमुकाममा आएर मात्रै सफ्टवेयरमा इन्ट्री गर्नुपर्ने अप्ठेरो स्थिति छ । तर, देशभरबाट पाएको जानकारीअनुसार सदस्यता नवीकरण उत्साहजनक नै छ । धेरै जिल्लामा फारम भर्ने काम सकिएको जानकारी आएको छ । अब त्यसलाई भटाभट सिस्टममा इन्ट्री गरेर कात्तिक २५ भित्रमा नवीकरण सक्ने गरि काम भइरहेको छ । कुनैपनि तहका अधिवेशनहरु स्थगित हुने अवस्था आउँदैन’, उनले भने ।

३१ लाख सदस्यता वितरणबारे भने भ्रम परेको भन्दै उनले भने, ‘यसमा केही भ्रम परेको देखियो, हामीले ३१ लाख भनेको साधारण सदस्य हो, संगठित सदस्य होइन । संगठित सदस्य साढे सात लाख भनेको हो । त्यहिअनुसार माग भएकाले सदस्यता कार्ड जिल्ला–जिल्लामा पठाइसकेका छौं ।’

माओवादी केन्द्रले गत आमनिर्वाचनमा जम्मा १३ लाख मत पाएको थियो । २०६४ सालको पहिलो संविधानसभाको निर्वाचनमा ३१ लाख ४४ हजार २ सय ४ मत पाएको थियो । त्यहि मतअनुसार समर्थक, शुभचिन्तकलाई समेटेर साधारण सदस्यता वितरण गर्ने माओवादीको तयारी छ । सचिव ढकालले साधारण र संगठित सदस्य फरक–फरक भएको बताए । ‘नयाँलाई सोझै संगठित सदस्यता दिन मिल्दैन, अहिले नवीकरण हुने संगठित सदस्यता हो, नयाँले साधारण सदस्यता पाउँछन्’, उनले भने ।

पार्टीले गत निर्वाचनमा पाएको मतभन्दा १८ लाख सदस्य बढाउने कुरा अपत्यारिलो भएन र भन्ने प्रश्नमा ढकालले भने, ‘प्रत्येक वडामा औसतमा चार सय पार्टी सदस्य बनाउँदा पनि त्यो संख्या पुग्छ । हामीले अध्ययन गरेरै योजना बनाएका हौँ । केही मेहनत पक्कै गर्नुपर्ने हुन्छ । तर असम्भव छैन । ’

प्रत्येक वडामा कम्तीमा तीनवटा टोल कमिटी गठन गर्ने माओवादीको योजना छ । एक टोलमा तीन वटा सेल कमिटी गठन गर्ने र एक सेलमा तीनदेखि १५ संगठित सदस्य रहने माओवादीको निर्णय छ । पार्टी सेल सबैभन्दा तल्लो कमिटी हो ।

टिप्पणीहरू