बेमौसमी वर्षाले किसान ठहरै, चामल व्यापारी मालामाल

बेमौसमी वर्षाले किसान ठहरै, चामल व्यापारी मालामाल

असारमा रोपेर असोजको अन्त्यदेखि कात्तिकको पहिलो सातासम्ममा स्याहानुपर्ने धानबालीमा बेमौसमी वर्षाले पूर्णक्षती पुर्याएपछि किसानहरुलाई वर्ष दिनसम्म के खाने भन्ने चिन्ताले सताएको छ । यो वर्ष समयमै वर्षा हुँदा तुलनात्मक रुपमा धानबालीको उत्पादन राम्रो हुने अनुमान गरिएको थियो ।

तर धान भित्र्याउने बेलामा परेको मुसलधारे र लगतारको वर्षाले गर्दा किसानले लगानी समेत उठाउन नसक्ने अवस्था देखिएको हो । वर्षाले खेतमै धान उम्रेपछि अरबौं रुपैयाँको क्षति भएको बताइएको छ ।

कृषि मन्त्रालयअन्तर्गतको कृषि विभागका अनुसार धान खेतीको पकेट क्षेत्र मानिएका तीन वटा प्रदेशमा मात्र ५८ हजार मेट्रिक टन धान नष्ट भएको बताइएको छ । विभागका अनुसार सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश र प्रदेश नम्बर १ मा अत्यधिक क्षति पुगेको छ ।

यता किसानलाई अबको एक वर्ष कसरी छाक टार्ने भन्ने प्रश्नले सताउँदा चामल उत्पादक कम्पनी (राइस मिल) हरुलाई भने फाइदै फाइदा हुने अवस्था देखिएको छ । खेतमा भिजेको धान कौडीको भाउमा किन्न थालिएको छ । त्यस्तो धानलाई कारखानामा लगेर उमालेपछि स्टिम चामल बन्छ । त्यहि स्टिम चामललाई पछि बजारमा महंगो मूल्यमा बिक्री गरेर मनग्य आम्दानी गर्ने मौका व्यवसायीहरुले पाएको बताउन थालिएको छ ।

टिप्पणीहरू