​कस्ने बुँदा च्वाट्टै यसरी काटियो

एमालेको नवौं महाधिवेशनबाट विधानमा राखिएको ७० वर्षे उमेर हदसम्बन्धी प्रावधान हटाइएको छ । यो बुँदा हटाउने निर्णय हुँदाको प्रसंग भने निकै रोचक छ । स्रोतका अनुसार यो हदबन्दी हटाउन कम्ती मुस्किल परेको थिएन । गोकर्ण रिसोर्टमा एमाले र माओवादीका नेता मोबाइल नै स्विच अफ गरी बस्दा पनि यसलाई हटाउन सकिएको हैन । मन्त्री बनेर सरकारी जिम्मेवारीमा पुगेका बादल, ईश्वर पोखरेल, गोकर्ण विष्ट, वर्षमान पुनलगायतलाई नराखीकन जनार्दन शर्मा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, बेदुराम भुसालहरूले एउटा खाका तयार गरेका थिए । त्यहाँ ७० वर्षे हटाउने कुरामा छलफल हुँदा ‘होइन, माथिको एउटा तह थिग्रिएर बस्दा तलबाट आउनेहरूको बाटो जाम हुन्छ । कत्रो दुःख गरेर त्यसलाई ब्रेक गरेकोमा अब अहिले आएर फेरि उल्टो बाटो जानुहुन्न । किम इल सुङ, किम जोङ इल, माओ त्सेतुङहरूले पनि ¥यालसिंगान हुञ्जेल आजीवन खाए । त्यसले पार्टीको इमेज राम्रो बनाएन । उनीहरूको नाममा अरूले फाइदा उठाए ।

बूढाहरू थुप्रँदा थपना मात्र हुन्छन्’ भनेर यस्तो प्रावधान ल्याइएको तर्क ७० वर्षे उमेरहद जारी राख्नुपर्ने पक्षमा रहेकाहरूले राखे । अन्त्यमा ‘लौन त राखौं, यसलाई नहटाऊँ’ भन्ने टुंगो लाग्यो । विदेशी नियोगका प्रमुखहरूसँग छलफल गरेकै दिन गत हप्ता पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई त्यो कुराको रिपोर्टिङ भयो । ओलीले निकै रोचक पारामा आफ्नो सुझाव पेश गरे, ‘अब पार्टी एकता हुने भइहाल्यो । यो काम बडो मुस्किलले अघि बढाइयो । चुनावबाट यत्रो उपलब्धि हासिल भएको छ । यस्तो बेलामा हामीचाहिँ बाहिर बस्नुपर्ने, संगठन हाँक्न नपाउने, पार्टी, देश, जनताको सेवा गर्न नपाउने, यसमा विचार गरिदिनुप¥यो भन्दै केही साथी आएर रुन, कराउन, बिलाप गर्न थालेका छन् । भैगो छोडिदिनुस्, उहाँहरूको आँसु पुछिदिनुस्,  धर्म हुन्छ ।’ उनको यो भनाईसँगै सारा तर्क वितर्क खरानी भए । भावुक मुद्रामा पार्टी अध्यक्ष बोलेपछि कसैले प्रतिवाद गर्ने कुरै आएन । आखिर ७० वर्षे प्रावधान हट्यो । अन्ततः योगदानलाई उमेरले छेक्दैन भन्ने मान्यता कायम भयो । स्रोतका अनुसार ७० वर्षे प्रावधान लगाउनेहरूलाई वामदेव गौतमले त पापिष्टसमेत भन्ने गरेका थिए । उनलाई यो प्रावधानले आफूलाई नै टार्गेट गरेको भन्ने लागिरहेको थियो । मोदनाथ प्रश्रितले यही प्रावधानको कारण राजनीतिक जीवनबाट विश्राम लिइसकेका छन् । 

टिप्पणीहरू