उड्न ठिक्क परेको विमानका यात्रु १९ घण्टासम्म सिटको सिटमै

उड्न ठिक्क परेको विमानका यात्रु १९ घण्टासम्म सिटको सिटमै

कुनै पनि उड्न ठिक्क परेको विमान यात्रु भरिएपछि र तोकिएको समयपछि कति बेरसम्म रोकिएला ? आधा घण्टा वा एक घण्टा ? त्यसो होइन हालै अष्ट्रियाको राजधानी भियनामा इरान वायुसेवाको एउटा विमान उड्न ठिक्क परेपछि रोकिँदा त्यसका यात्रु सबै १९ घण्टासम्म सिटको सिटमै बस्न बाध्य भएका छन् ।

विमानबाट बाहिर निस्कन पनि नपाइने र विमानलाई उड्न समेत नदिएपछि यात्रुहरुको हालत कस्तो भयो होला ? कल्पना गरौं त ! कतिपय बिरामी, बालबालिका, सुत्केरी र असहाय यात्रीलाई उक्त अवस्थामा भएको कठिनाइको वर्णन गर्न नसकिने बताइन्छ ।

केही साताअघि यस्तै घटना भियना विमानस्थलमा भएको हो । विमान उडानमा ढिलाइ हुँदा इरान एयरका यात्रुहरु विमानभित्रै रात र दिन बिताउन बाध्य भएका हुन् । इरान एयरको उडान नम्बर आइआर ७१६ को विमान भियना अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गर्ने समयमा नसोचेको ढिलाई हुँदा यात्रुहरुले दुःख पाएका हुन् ।

उडान ढिलो हुनुको विस्तृत विवरण नदिइएको समाचारमा पहिले नै विमानमा चढिसकेका यात्रुहरूलाई सुरक्षित तवरले विमान बाहिर आउन नदिनु गम्भीर विषय भएको उल्लेख छ । विमानस्थल स्रोतले विमानमा प्राविधिक समस्या आएको कारण उडान ढिलो हुनेबारे यात्रुहरुलाई जानकारी दिइएको दाबी गरेको छ ।

प्राविधिक रुपमा खराब अवस्थामा पुगेको विमानको सट्टा नयाँ विमानको बन्दोबस्त गर्दा ढिलो भएको, प्रतिस्थापन विमान मध्यरातमा मात्रै भियना आइपुगेको र त्यसको सरसफाइलगायतका कार्य गर्न केही समय लागेकाले उडान समय सोचेकोभन्दा धेरै ढिलो भएको अधिकारीहरुले बताएका छन् ।

अघिल्लो दिन बिहान उड्नुपर्ने इरान एअरको विमान अर्को दिन बिहान ६ बजे भियनाबाट उडेर राति ११ बजे इरानको राजधानी तेहरानमा अवतरण भएको थियो ।

यसअघि सन् २०१९ को अक्टोबरमा अमेरिकाको सानफ्रान्सिस्को विमानस्थलबाट उड्न ठिक्क परेको भारतको एयर इण्डियाको विमानलाई त्यसैगरी घण्टौं रोकिदिँदा यात्रुहरुले सास्ती व्यहोर्नु परेको थियो । त्यतिबेला पनि एअर इण्डियाका यात्रुहरु विमानको सिटमा बसेर विमानस्थलमै रात बिताउन बाध्य भएका थिए । विमान कम्पनीले सहयोग नगरेपछि कतिपय निजी खर्चमा होटेलमा बस्न गएका थिए ।

टिप्पणीहरू