​बबाल रहेछ हजुर विज्ञापनमा

सार्वजनिक हितका लागि जारी गर्नुपर्ने सूचनामा समेत कमिसनको डरलाग्दो चक्कर ? झट्ट सुन्दा पत्यार लाग्दैन । तर, सरकारी अड्डामा अचेल यस्तै धन्दा मौलाइरहेको छ । जनआस्थाकर्मी केही दिनअघि बबरमहलस्थित खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागको कार्यालयमा पुग्दा दुई जना गोरखाली भाइको बबाल देख्न पाइयो ।

एक जना चीनकाजी श्रेष्ठका सहोदर भाइ, अर्काे थिए बाबुराम भट्टराईका खास मान्छे । दुईबीच महाभारतको कारण थियो विज्ञापन । चीनकाजीका भाइ धर्मेन्द्रकाजीले भेराइटिज नामक विज्ञापन एजेन्सी चलाउँदै आएका छन् भने पूर्वलडाकु कृष्ण घिमिरे एनसी मिडियाका साहुजी हुन् । त्यहाँ सूचनाको टेण्डरमा यी दुईको लफडाको किस्सा हो यो । सुरुमा कर्मचारीलाई ५० प्रतिशत छुट (कमिसन) दिएर धर्मेन्द्रले सबै सूचना हात पारे । यो कुरा चाल पाएपछि त्यही खेलो अपनाए कृष्णले । हाकिमलाई ५१ प्रतिशत छुटको लोभ देखाएर सो काम धर्मेन्द्रबाट हड्पिए । अहिले कृष्णले भन्दा एक प्रतिशत बढी कमिसन दिएर त्यहाँका सूचनाको सबै काम फेरि धर्मेन्द्रकै हातमा सरेको छ । एड्भरटाइजिङ एसोसिएसन (आन)का अनुसार यो व्यवसायमा अहिले ३ सय २० व्यवसायी आबद्ध छन् । तर, यातायात क्षेत्रमा जुन प्रकारको सिन्डिकेट चल्दै आएको थियो त्योभन्दा डरलाग्दो सिन्डिकेट छ यता । नयाँ व्यवसायीले सरकारी टेण्डर लिएर सूचनासम्बन्धी काम गर्छु भनी नचिताए पनि हुन्छ । अधिकांश सरकारी कार्यालयमा यिनै दुई भाइको बोलवाला छ । उनीहरूले छाडेको जुठोचाहिँ त्यहीँ काम गरेर आफैं व्यवसायी बनेका रेन्बो, एनसी मिडियावालाले हात पारिरहेका छन् ।

धर्मेन्द्रकाजीले विद्युत् प्राधिकरणको सबै सूचना गोरखापत्रमा छपाउँदै आएका थिए । पछाडि गोरखापत्र संस्थानसँग सीधै सम्पर्क गरी विद्युत् प्राधिकरणले काम आफैं गर्न थाल्यो । यसो गर्दा एजेन्सीलाई दिनुपर्ने २५ प्रतिशत रकम बच्यो । यही कदमविरुद्ध उनी सर्वाेच्च अदालत पुगेका थिए ।  

राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र सबैभन्दा बढी सूचनामा खेल्ने ठाउँ हो । जसले वार्षिक करोडौंको सूचना छपाउँछ । र, यो टेण्डर विज्ञापन एजेन्सीलाई हात पारिदिएबापत त्यहाँका अधिकृतदेखि हाकिमहरूले सीधै कमिसन माग्ने गरेको एक व्यवसायीले सुनाए । यस्ता ठाउँमा काम गर्ने अधिकृतस्तरका कर्मचारीले मात्र मासिक ४ देखि ५ लाखसम्म कमाउँदै आएका छन् । ‘सूचनाको काम दिलाउँछु, कति प्रतिशत कमिसन दिन्छस् ?’ भनेर हाकाहाकी सोध्ने अधिकृतहरू सिंहदरबारतिरै भेटिन थालेका छन् । 

सँगै छापामार युद्ध लडेका केही पूर्वलडाकु बिदेसिएर ऊँट, भेडा र घोडाको लिदी सोर्दै छन्, केही हात मुख जोर्न अनेकन संघर्ष गर्दै छन् । अयोग्य लडाकुको त कथा बेग्लै छ । तर, तीसँगै लडेका कृष्ण घिमिरे यही व्यवसायबाट मालामाल भएका छन् । हिसिला यमी मन्त्री हुँदा उनले एजेन्सी खोल्न भ्याएका हुन् । सरकारी विज्ञापनमा खेलेकै भरमा ५० लाख मूल्य पर्ने हुन्डाईको क्रेटा गाडीमा हुइँकिन्छन् । दुई वर्षअघि वनस्थलीमा करोडांै खर्चेर बंगला ठड्याएका छन् । जसरी नेपालको प्रशासन सेवामा गुल्मी, अर्घाखाँची, स्याङ्जा र पाल्पालीको वर्चस्व छ ठीक उही ढंगले विज्ञापन बजारचाहिँ गोरखालीको कब्जामा छ । मिडिया हबका मालिक सोम धितालदेखि, त्रिकोणका राजेन्द्र अर्याल, कसमस एडका शम्भु अधिकारी, एनसीका कृष्ण घिमिरे, भेराइटिजका धर्मेन्द्रकाजी श्रेष्ठ सबै गोरखाली विज्ञापन बादशाह हुन् । ३२० विज्ञापन एजेन्सीमध्ये झण्डै आधामा गोरखालीको हिस्सा रहँदै आएको छ । 

– हरि गजुरेलबाट

टिप्पणीहरू