कमरेडको मन–मुटु, किन कुटुकुटु

‘५०/५० को भागबण्डा, जनयुद्ध र जबजको कुरा’ भनेर एमाले–माओवादी एकता जसरी भाँजो हाल्ने विषयका रुपमा अगाडि आएको भनिँदैछ, वास्तविकता अलिक फरक रहेछ । एकताकार्य सम्पन्न गर्नुपर्नेमध्ये माओवादीतर्फका रामबहादुर थापा (बादल), वर्षमान पुन (अनन्त), गिरिराजमणि पोखरेल र एमालेका गोकर्ण विष्टहरु मन्त्री भएपछि संवाद पातलिनु स्वाभाविक पनि थियो । तर, अड्किएको केही होइन ।

वर्षमान र एमालेका बेदुराम भुषालले विधानको कुरा टुंग्याउने जिम्मा पाएका थिए । वर्षमान मन्त्री भएपछि बेदुरामले नै प्रस्तावना लेखेर छलफल गरे । जनयुद्ध र जनताको बहुदलीय जनवादजस्ता शब्दमा नअल्मलिएर माक्र्सवाद–लेनिनवादलाई मार्गदर्शक सिद्धान्त र ‘जनयुद्ध’ को सट्टा ‘जनक्रान्ति’ मा कुरा टुंगिसकेको हो । तर, बजारमा विवाद अझै बाँकी छ भनेर हल्ला चल्नुको कारणचाहिँ माओवादीबीचकै अन्तद्र्वन्द्व रहेछ । एकता प्रक्रियाका सूत्रधारमध्ये हुन्, जनार्दन शर्मा । चुनावी गठबन्धन र टिकट वितरणसम्म नारायणकाजी, जनार्दन नै हावी रहे, एमालेबाट वामदेव र विष्णु पौडेल थिए । तर, त्यसयता उनीहरुको भूमिका फेरियो ।

रामबहादुर थापाले त्यसपछिको कामको अगुवाई लिए । र, त्यसमा वर्षमान पुन जोडिए । जबज र जनयुद्धका कुरालाई मिलाएर लैजाने जनार्दनकै प्रतिवद्धतालाई वर्षमानले पनि त्यसपछिका छलफलमा स्वीकारे । फलतः त्यो विषय टुंगियो । तर, पार्टीभित्र वर्षमानले ‘जनयुद्ध हटायो’ भन्ने पार्नलाई यतिबेला जनार्दनपक्षीय माओवादीहरु जोडसँग लागेका छन् । वर्षमान पक्षधरको आरोपचाहिँ के छ भने, ‘जनार्दन अहिले प्रचण्डसँग भन्दा बढी केपी ओली, विष्णु पौडेलहरुसँग सम्पर्कमा छन् । एकताअघि नै उनी एमाले भइसके ।’ जनार्दनको भैंसेपाटी आवत–जावत अलिक बढेकोचाहिँ सत्य हो । त्यहाँ प्रायः विष्णु पौडेल र बेलाबेला वामदेवकहाँ पुगिरहन्छन् । वर्षमानहरुले कसरी अथ्र्याएका छन् भने, पहिला पदाधिकारीतर्फ अध्यक्ष र महासचिवसम्म राखेर जाने कुरा जनार्दनले भाँडे । किनभने, त्यसो भयो भने एउटा व्यक्ति महासचिव हुने । अरु भूमिकाहीन हुने । महासचिवबिनाको अवस्था भयो भने पार्टी सचिवालय सञ्चालनको साझा संयन्त्र बनाउनुपर्छ । त्यसमा एकातिरबाट विष्णु पौडेल र अर्कातिरबाट जनार्दन हुने, ‘महासचिव’ नभनिए पनि काम त्यही हुने । 

उता जनार्दनहरुले वर्षमानबारे भन्न थालेका छन्, ‘उनले मन्त्री भएर मेरो पालामा भएको लोडसेडिङ अन्त्यको घोषणा गर्दैछन् । सुटको मूल्य १० हजार निर्धारण गरे । र, सबै नेपालीको खातामा जलविद्युतको शेयर हालिदिए ।’ वास्तविकता के थियो भने, वर्षमानले पाँच लाखको सुट लगाएको समाचार माओवादीसम्बद्ध पत्रकारले फिँजाए, र वर्षमानको सचिवालयले त्यसको खण्डन ग¥यो । समाचार फैलाउने एकथरि, प्रतिरक्षा गर्ने अर्काथरि ।

त्यसपछि वर्षमानहरुले काम गर्न सकेनन् भन्ने पार्नलाई अर्कातिरबाट ५०÷५० प्रतिशतबिना एकता नहुने हल्ला चलाइयो । वास्तवमा एकताको कुरालाई यसले रोकेकै छैन । केसम्म भन्न थालियो भने, वर्षमानले चुनाव चिह्न सूर्यमा सहमति गरिदिए । वास्तविकता अर्कै छ । दशैंको टीकाको दिन माइतिघरस्थित नवीन कँडेलको घरमा भएको छलफलमा सूर्य चिह्नमै माओवादीले चुनाव लड्ने सहमति जनार्दनको उपस्थितिमा भएको थियो । त्यस्तो सहमति भइसकेपछि उनले त्यहीँबाट विष्णु पौडेललाई फोन गरेर भनेका थिए, ‘दाइ, कुरा मिल्यो । आउनुस्, अब हस्ताक्षर गरौँ ।’ विष्णु पुगेपछि साझा चुनाव चिह्नमा जाने सहमतिको कागज तयार भयो । हस्ताक्षर पनि भएको हो । तर, भोलिपल्टैको छलफलमा कुरा बिग्रियो । जनार्दनले नै वर्षमान र कृष्णबहादुर महरालगायतका साथीहरुले मान्नुभएन भन्दै सूर्य चिह्नमा जान आनाकानी गरे । त्यतिबेलासम्म हृदयेश त्रिपाठी, बाबुराम भट्टराईहरु पनि यही चिह्नमै जान तयार भइसकेका थिए । तर, भोलिपल्टै माओवादीको कुरा फेरिएपछि उनीहरु पनि के गर्ने, कसो गर्ने भन्नेमा पुगेका हुन्  ।

गोकर्ण विष्ट र गिरिराजमणि पोखरेलको जनसंगठन समायोजन गर्ने कार्यदलले पनि हिजो आफ्नो प्रतिवेदन दुई अध्यक्षसमक्ष बुझाइसकेको छ । सम्भवतः केही दिनमै दुबै पार्टीका जनसंगठन भंग गर्ने वा एउटा संयोजक र बाँकी सबै सदस्य हुने गरी एकतालाई सहज बनाउने कामको थालनी हुने एमालेस्रोत बताउँछ । 

टिप्पणीहरू