​हुनसम्म भयो हावाले

अर्थमन्त्रीले हावादारी बजेट ल्याउँदा मुलुकको अवस्था कति भयावह देखिने रहेछ भन्ने कुराको यथार्थ उदाहरण बनेको छ, हाम्रो देश नेपाल । प्रचण्ड प्रधानमन्त्री रहेका बेला अर्थ मन्त्रालय सम्हालेका थिए, हालका सभामुख कृष्णबहादुर महराले । त्यसबेला ल्याइएको बजेटमा सञ्चितकोष १०३ अर्बको रहन्छ भन्ने व्यहोरा घुसाइयो । तर, त्यो अनुमान हावा ठहरियो । आखिर त्यो वर्ष बजेट घाटा नै ४७ अर्बको हुन पुग्यो । यसले गर्दा अनुमानित बजेटमा सोझै १५१ अर्बको कमी हुन आयो । 

असरस्वरूप आगामी बजेटमा सबै मन्त्रालयलाई छुट्याइने बजेटबाट औसत १७.५ प्रतिशत घट्ने भएको छ । योजनाहरू किताबमा छन् तर वितरणका लागि पैसा छैन । समस्या कस्तो भने अघिल्लो आर्थिक वर्षको बचत नै नदेखाई बजेट निर्माण गर्नुपर्ने भएको छ । अर्थ मन्त्रालय स्रोतका अनुसार त्यसैले बजेटको आकार घटेर १०२४ अर्बको घोषणा गर्नुपर्ने बाध्यता छ । वैदेशिक सहयोगको माध्यमबाट ३०४ अर्ब जुटाउने र बाँकी ९ सय अर्बचाहिँ आन्तरिक स्रोतबाट संकलन गर्ने योजना छ । राजस्वमार्फत ७३६ र आन्तरिक ऋणबाट १६४ अर्ब उठाउने तयारीमा अर्थ मन्त्रालय छ । मनोरञ्जन कर, घरबहाल दस्तुर, सवारी करलगायत आर्थिक स्रोत स्थानीय निकायले संकलन गर्ने भएकाले त्यो आम्दानी राष्ट्रिय बजेटमा सामेल हुन पाउने छैन । यसले केन्द्रीय बजेटमा ७० अर्बको क्षति पुग्ने आकलन अर्थ मन्त्रालयको छ ।

अब आगामी आर्थिक वर्षदेखि राज्यले उठाउने आय कर र भ्याटको पनि १५÷१५ प्रतिशत प्रदेश र स्थानीय तहमा जाने हुन्छ । यसरी १०८ अर्ब सीधै तल जाने निश्चित छ । हुँदाहुँदा प्रधानमन्त्रीले पटक–पटक भन्ने गरेको समृद्धिको नयाँ कार्यक्रमका लागि समेत स्रोतको अभाव देखिएको छ । 

टिप्पणीहरू