फेरि अर्को गाडी खस्यो,जनता मरेको मर्यै

फेरि अर्को गाडी खस्यो,जनता मरेको मर्यै

राप्ती राजमार्गअन्तर्गत सल्यानको कपुरकोटमा आज बिहान जीप दुर्घटना भएको छ । दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

जिल्लाको कपुरकोट गाउँपालिका वडा नम्बर ३ मूलपानीमा भे १ च १२८० नम्बरको डबल क्याप जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
दुर्घटनामा परी सल्यानको बागचौर नगरपालिका १ का १८ बर्षीय आयुष बस्नेतको उपचारको क्रममा दांग लाँदै गर्दा मृत्यु भएको छ ।

सल्यानको थारमारेबाट दांगतर्फ जाँदै गरेको जीप आज बिहान ८ बजे दुर्घटना भएको हो । जीप सडकबाट अन्दाजी १ सय मीटर तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर अन्य पाँच जना घाइते भएका छन् । घाइते हुनेहरुमा सल्यानको बागचौर नगरपालिका १ का मनोज बस्नेत,सोहि ठाउँका सीता ओली,बबिता रावल र निजको ११ बर्षकी छोरी एलिसा रेउले रहेका छन् ।

एक जना घाइते पुरुषको नामथर र वतन नखुलेको प्रहरीले जनाएको छ । उनी बेहोस् अवस्थामा रहेका छन् ।

घाइतेमध्ये बबिता रावलको अवस्था गम्भिर भएपछि नेपालगन्ज लगिएको छ भने अन्यलाई उपचारको लागि दांग पठाईएको सल्यान प्रहरीले जनाएको छ ।

गाडी चालकको पहिचान हुन सकेको छैन ।

टिप्पणीहरू