काङ्ग्रेस कार्यसमिति अवैधानिक भैसक्यो : गगन थापा

काङ्ग्रेस कार्यसमिति अवैधानिक भैसक्यो : गगन थापा

-शंकर श्रेष्ठ

काङ्ग्रेसको महाधिवेशन मंसिर ९-१३ मै हुने नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता गगन थापाले बताएका छन् ।

काङ्ग्रेस धादिङका पूर्व सभापति रामनाथ अघिकारीकी आमाको निधनपछि अधिकारीलाई समवेदना प्रकट गर्न धादिङ आएका थापाले काङ्ग्रेस महाधिवेशनअघि नेपालमा कुनै निर्वाचनको संभावना नरहेको बताए । काङ्ग्रेसको १३ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिले निर्वाचनमा दल दर्ता गर्नै नपाइने भएकोले पनि १४ औँ महाधिवेशनअघि देशमा कुनै निर्वाचनको संभावना नरहेको स्पष्ट पारे ।

‘अहिलेको कार्यसमिति अवैधानिक भैसकेको छ । बैशाखमा निर्वाचन गर्न पनि यो कार्यसमितिले दल दर्ता गर्न मिल्दैन’ थापाले भने- ‘त्यसैले नेपाली काङ्ग्रेसले महाधिवेशन नगरिकन आम निर्वाचन वा स्थानीय निर्वाचन कतै पनि भाग लिनै पाउँदैन ।’

थापाले महाधिवेशनअघि चुनाव होला कि भन्ने कुरामा नअल्मलिन काङ्ग्रेस कार्यकर्तालाई आग्रह गरेका छन् । आजको केहिदिनभित्रै निर्वाचन समितिले नयाँ कार्यतालिका निकाल्ने र मंसिर ९ देखि १३ मा नै महाधिवेशन हुने ठोकुवा गरे ।

केन्द्रीय समितिको बैठक माग गरिरहेको बताउँदै उनले भने- ‘पार्टी अधिवेशनको तिथिमिति सार्ने भनेको २ जना नेताले कानेखुसी गरेर सार्ने भन्दैमा सर्दैन । पार्टी कसैको निजी कम्पनी जस्तो होइन ।’

केन्द्रीय समितिको बैठक बिना महाधिवेशनको मितिको विषयमा छलफलसमेत गर्न नपाइने थापाले जिकिर गरे ।

टिप्पणीहरू