​बुढेसकालमा खोरको बास

करिब ५० वर्ष हाराहारीमा पुगेकी घरेलुकी जागिरे श्रीमती अख्तियारको हिरासतमा बस्नुपरेको पीडामा छन्, पोखरा क्षेत्रीय प्रशासन कार्यालयका सहसचिव बाबुराम गौतम । गृहअन्तर्गतका सहसचिवकी जीवनसंगिनी इन्दिरा जम्मा १० हजार रुपैयाँ घुस लिँदालिँदै गत साता रंगेहात समातिएकी थिइन् । पक्राउसँगै जागिरबाट निलम्बन मात्र भएन कि मधुमेह र उच्च रक्तचापकी बिरामी उनको स्वास्थ्य अवस्था पनि कमजोर बन्दै गएको बताइन्छ । गौतम परिवारलाई नजिकबाट चिन्नेहरू भन्छन्, ‘आखिर २/३ वटा जिल्लामा एलडिओ हुँदा बूढाले थोरबहुत सम्पत्ति जोडेकै थिए । नपुग्दो के थियो र उनले यसरी गुन्द्रुकको झोलमै जात फाल्नुप¥यो ? ।’ स्रोतका अनुसार एउटा घरेलु उद्योग दर्ताका क्रममा घुस मागेपछि यथेष्ट प्रमाण र अडियो, भिडियो रेकर्डसहित उनी पक्राउ परेकी हुन् ।

आफू पनि गृहअन्तर्गतकै हाकिम भएका नाताले बाबुरामले अख्तियारका हाकिमलाई ‘सुगर र प्रेसर छ, यसो हेरविचार गरिदिनू है’ भनी आग्रह राख्ने गरेका छन् । हाल यसरी समातिएका साना माछामध्ये चार जना टंगाल र ५ जना विभिन्न वडा प्रहरी कार्यालयमा छन् । अख्तियारले ठूलालाई बेवास्ता गर्दै सानालाई मात्र लखेटेको प्रतिक्रिया आइरहँदा कस्तो प्रवृत्ति देखिँदै छ भने एक रुपैयाँ पनि घुस नै हो, १० लाख पनि घुस नै हो । त्यसो हुँदा ठूलै माग किन नगर्ने ! जानकारहरूका अनुसार घुस खाएको पैसा वितरण गर्ने एउटा अलिखित तर सर्वमान्य विधि नै कर्मचारीले सबैतिर विकास गरेका छन् । जसअनुसार घुसबाट प्राप्त रकमको ४० प्रतिशत सोझै कार्यालय प्रमुखलाई दिनुपर्ने हुन्छ । बाँकी ६० प्रतिशतको पनि आधा सो फाइलमा हस्ताक्षर गर्ने शाखा प्रमुखले खाने र रहलपहलचाहिँ फाँटवालाले बाँडेर लिने चलन छ ।

भक्तपुर मालपोत, नापी, चाबहिल मालपोत, वैदेशिक रोजगार विभाग, यातायात व्यवस्था कार्यालयलगायत घुसका प्रमुख अड्डामा यही सिष्टम रहेको बताइन्छ । उता, प्रहरी प्रधान कार्यालय आइजी जिल्लामा गएका कारण सुनसान छ भने अर्को हप्ता घर जाने बेला भएकाले उनीबाट खासै कामको अपेक्षा राख्नेहरू पनि नहुँदा यस्तो चकमन्नता छाएको हो । हुन पनि आफ्नो कार्यालयको अधिकांश समय अदालती आदेशबमोजिम नवराज सिलवाललाई कसरी पक्रने र ३० वर्षे हटाउने विषयमै बितेको टिप्पणी गर्न थालिएको छ । उनले अघि सारेका सबै प्रस्ताव मन्त्रीले फाइल पल्टाउने कष्टसमेत नगरी थन्क्याएकाले हवल्दार, असइसम्मको सरुवा–बढुवामा समेत समस्या भएको बताइन्छ ।

टिप्पणीहरू